युवाशक्ति तस्करीको वैधानिक सम्झौता; जापान कामदार पठाउन ‘सहयोग समझदारी पत्र’मा हस्ताक्षर

काठमाडौँ, ११ चैत्र – जापानले नेपाली कामदार लैजाने विषयमा दुई देशबीच सोमबार काठमाडौंमा ‘सहयोग समझदारी पत्र’मा हस्ताक्षर भएको छ । यस बिषयलाई कतिपय बिश्लेषकहरुले देशको युवा जनशक्ति बिदेश पठाउने काम एक प्रकारको मानव तस्करी भएको बाताएका छन्। उनीहरुका अनुसार देश बिकासमा लगाउनु पर्ने युवा जनशक्ति क्षणिक पैसा र सुखसुबिधा अनि रिमिट्यान्सको प्रलोभनमा बिदेशिनु एक दु:खद बिषय हुनुका साथै यसका लागि वैधानिक रुपमै सम्झौता हुनु देशका लागि सबैभन्दा घातक कुरा हो।

सोमबार भएको एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा श्रम मन्त्रालयका निमित्त सचिव र जापानी राजदूतले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

जापानले पहिलोपटक ‘श्रम भिसा’ मा सोझै नेपालबाट कामदार लैजाने भएपछि दुई देशबीच समझदारीमा हस्ताक्षर भएको हो।

जापानले आउँदो अप्रिल १ देखि नेपालसहित ९ देशबाट विदेशी कामदार लैजाने निर्णय गरेको छ। समझदारीअनुसार दुई देशका सरकारी संयन्त्रको समन्वयमा कामदार भर्ना हुनेछन्। ‘जापान जाने नेपाली कामदारले म्यानपावर धाइराख्नुपर्ने छैन । कामदार पठाउने कार्य सरकारी संयन्त्रबाटै गर्ने सहमति भएको छ,’ श्रम मन्त्रालय एक अधिकारीले भने, ‘तेस्रो पक्षको संलग्नता हुँदा उच्च ठगी हुने सम्भावना देखिएको थियो । हाम्रो मुख्य उद्देश्य नै कामदार ठगी हुनबाट जोगिनुपर्छ भन्ने थियो ।’

श्रम मन्त्रालयले वैदेशिक रोजगार विभागअन्तर्गत एउटा शाखा स्थापना गर्नेछ । त्यही शाखाले जापानी रोजगारदाताले माग गरेअनुसारका कामदार पठाउन सहजीकरण गर्नेछ । ‘हाम्रो मुख्य सरोकार नै जापान जाने कामदारमाथि अनावश्यक ठगी र झन्झट नहोस् भन्ने छ । कामदार पठाउन दुवै देशका सरकारी संयन्क्र सत्रिय हुनेछन्,’ ती अधिकारीले भने । वैदेशिक रोजगारका लागि सरकार आफैं संलग्न भएको यो तेस्रो देश हो ।

यसअघि दक्षिण कोरिया र इजरायलमा सरकारी तवरबाटै कामदार पठाउने गरिएको छ । दक्षिण कोरिया सफल मोडल हो भने इजरायल असफल जस्तै छ । जापानले दक्ष र अदक्ष कामदार लैजानेछ । जापानले आवश्यकताअनुसार प्रत्येक वर्ष कामदार लैजाने जनाएको छ । ५ वर्षभित्र ३ लाख ४२ हजार दक्ष–अदक्ष विदेशी श्रमिकलाई रोजगारी दिने जापानी नीति छ । कुन–कुन देशबाट कति कामदार लैजाने भन्ने निर्णय जापानले बाहिर ल्याइसकेको छैन ।

कामदार कम हुँदै गएपछि जापानले विदेशी कामदार ल्याउने नीति लिएको हो । उसले कृषि, उत्पादन र केयरगिभरका क्षेत्रमा रोजगारी दिने जनाएको छ । नेपालबाट भने केयरगिभरका क्षेत्रमा बढी कामदार लैजाने योजना छ।

एक उत्तर छोड्नुहोस्

Please enter your comment!
Please enter your name here