हिट हुनलाई चोरी गर्ने कलाकारहरू

0
179
Share
  •  
  •  
  •  
  •  


प्रकाश सपुतको ‘गलबन्दी…’ नसुन्ने को होला र ! १५ दिनमै युट्युबमा एक करोड भ्युज बटुलेर यो गीतले नयाँ रेकर्ड राख्यो । युट्युबको नेपाल ट्रेन्डिङमा अझै अग्रस्थानमा छ । बच्चादेखि वृद्धवृद्धा, दूरदराजदेखि नेपाली डायस्पोरासम्म रुचाइएको छ । तर यस गीतलाई चोरीको बात लागेको छ । उक्त ओरिजिनल गीत हो, ‘आऊ नाचौँ साथी हो…।’ गायकचाहिँ शम्भु राई । पुराना सर्जक राईको गीत बिनाक्रेडिट गाएपछि प्रकाशको आलोचना हुन थालेको छ । यही कारण स्टेज सो घट्ला भन्ने चिन्ता पनि छ । सामाजिक सन्जालमा प्रतिक्रिया आउन थालेको छ, ‘चोरेर त जो पनि हिट हुन सक्छ नि !’

सपुतलाई चिनाउने दोहोरी ब्याटल पनि कपीको आरोपबाट मुक्त थिएन । नारायणगोपालको ‘बैनीको दया छ भने…’ गीतसँग मिल्दोजुल्दो छ । मेलोडी खास फरक छैन । यत्ति हो, सपुतले आधुनिक शैलीमा ढालेका छन् । केही सर्जक र दर्शक/श्रोताले यो कुरा उठाए पनि त्यत्तिकै सेलाएको थियो ।

कपी/प्रभावित भएको गीतको सहारामा हिट हुने सपुत पहिलो गायक होइनन् । कालीप्रसाद बाँस्कोटाको ‘इन्स्टाको फोटो…’ भाइरल भइरहँदा चोरीको भेद खुलेको थियो । उनको स्रोतचाहिँ नेपाली थिएन, फ्रेन्च गीत थियो । कार्ला ब्रुनीको ‘केल्क्याँ…’ सँग लय मात्र होइन, ‘थिम’ पनि मिल्छ । उक्त फ्रेन्च गीतको अंग्रेजी सबटाइटल गरिएको भिडियोमा एउटा लाइन छ, ‘यु स्टिल लभ्ड मी’ । अनि, ‘इन्स्टाको गीत…’ पनि बाँस्कोटा दोहोराइहन्छन्, ‘अझै मलाई माया गर्छेऊ रे ।’ यसपछि बाँस्कोटाका फ्यानले पनि चित्त दुखाए । उनी ट्रोलको सिकार हुनुपर्‍यो ।

फरक स्वर र शैलीले अल्मोडा राना उप्रेती दर्शक/श्रोतामाझ प्रिय बने । कभर सङबाटै मनग्ये ख्याति कमाए । ‘फन्टास्टिक…’ गीत त भाइरल नै भयो । पार्श्व गायन र संगीतमा पनि उनको माग हुन थाल्यो । दीपकराज गिरीले छक्का–पञ्जा २ मा एउटा गीत कम्पोज गर्न र गाउन दिए । उप्रेतीले ‘नाइलनको सारी…’ तयार पारे । युट्युबमा सार्वजनिक हुनासाथ गीत हिट मात्रै भएन, चोरेको आरोप पनि लाग्यो । दिवंगत कान्छा मगर नेपालीको गीत नक्कल गरेपछि फिल्म युनिट नै संकटमा फस्यो ।

अल्मोडाकै कारण लफडामा फस्ने अर्का निर्माता हुन्, सुवास गिरी । फिल्म कृका लागि अल्मोडाले गाएको ‘उकालीमा अघिअघि…’ गीतलाई सम्झना फिल्मका निर्माता/निर्देशक शम्भु प्रधानले कपीराइट हनन भएको भन्दै उजुरी दिए । सुरुमा कृ युनिटले प्रधानलाई पेलेरै जान खोजेको थियो । तर प्रहरीले गिरीलाई हिरासतमा लियो । ११ लाख रुपैयाँ क्षतिपूर्ति तिरेपछि मात्र उनी हिरासतमुक्त भए ।

लोकगायनमा सपुत यतिबेला अगाडि छन् । फिल्म संगीत र आधुनिक गायनमा बाँस्कोटालाई भ्याइनभ्याइ छ । उप्रेतीलाई पनि क्षमतावान र सम्भावना बोकेका संगीतकर्मीका रूपमा हेरिएको थियो । तर एकाध गीत हिट हुन नपाउँदै उनीहरूले चोरीको आरोप खेप्नुपरेको छ । त्यो पनि एक पटक होइन, पटक–पटक । सर्जक आफैँ सिर्जनाप्रति इमानदार नहुनु विडम्बना त हो नै, अर्काको सिर्जना बिनाअनुमति लिन कानुनले पनि बन्देज गरेको छ । तर प्रतिभाशाली भनिएका सपुतहरू नै चोर बाटो समाइरहेका छन् । यो प्रवृत्ति नियालिरहेका वरिष्ठ लोकगायक कुमार बस्नेत भन्छन्, “हुती नभएका लाछीले मात्र अरूको चोरेर गाउँछन् । कलाकार आफैँलाई लाज हुनुपर्ने होइन ? असली सर्जकले आफैँ सिर्जना गर्छ, अरूको चोर्दैन ।”

बस्नेत आफैँ पीडित हुन् । उनको चर्चित गीत छ, ‘रउसी खान जाउँ…।’ यसैलाई थोरै तलमाथि गरेर टंक बुढाथोकीले गाए, ‘रूपै मोहनी…’ । शत्रुगते फिल्ममा समाविष्ट यो गीत सार्वजनिक भएपछि बस्नेतले विरोध जनाए । न बुढाथोकीले इमानदारी देखाए, न त फिल्म युनिटले । पछि बस्नेत चुप बस्न बाध्य भए । बुढाथोकीले त गीत मिलेको समेत स्वीकारेनन् । बरु ‘संगीतका १२ वटा नोटमा बसेर काम गर्दा यताउता ठोक्किनु स्वाभाविक’ भन्दै पन्छिए । बस्नेत दुःखेसो पोख्छन्, “चोर्नेहरू हामीभन्दा बलिया छन् । केही भनौँ भने आफैँ पिटाइ खाइएला भन्ने डर छ । कलाकारलाई समातिदिनु भन्दै प्रहरीलाई कति गुहार्नु ?” गीत चोरिएको सार्वजनिक भइसक्दा पनि कोही चुप बसेरै टार्न खोज्छन्, कोही धम्काउन र थर्काउन खोज्छन् । पीडितमा पनि अधिकार प्राप्तिका लागि संघर्ष गर्नेभन्दा ‘होस् केही हुन्न’ भनेर छाडिदिने प्रवृत्ति हाबी छ, जसले कालान्तरमा चोर्ने कुसंस्कारलाई नै बल दिएको छ ।

‘गलबन्दी…’ र राईको ‘आऊ, नाचौँ साथी हो…’ सुन्दा उस्तै लाग्छ । सुरुआती भाका त ठ्याक्कै मिल्छ । तर सपुतचाहिँ राईको गीत सुन्दै–नसुनेको जिकिर गर्छन् । उनकै शब्दमा संयोग मात्र हो । भन्छन्, “यो हार्मोनियम र सरगम प्रयोग गरेर बनाएको भाका होइन । बच्चैमा सुनेको भाका हो । नियतवश शम्भु सरको गीतबाट लिएको होइन ।” उनका अनुसार तालका लोकगीत धेरै भेटिन्छन् । रत्यौली र भजनमा पनि गाइन्छ । मेलोडीको कलर मिले पनि गायकी र नोटेसन फरक छ ।

स्मरण रहोस्, लोकगीतमा ‘गीतकार’ भनेर उल्लेख गरिँदैन, गाउँघरतिरका भाका उधिन्ने भएकाले ‘संकलक’ भनिन्छ । सपुतकै भनाइमा ‘गलबन्दी…’ लोकलय हो । यसको अर्थ उनको पूर्ण मौलिक सिर्जना त होइन । त्यसो भए, संगीतकारमा आफ्नो नाम राख्न सुहाउँछ त ? भन्छन्, “केही समययता संकलन राख्ने चलन छैन । कानुनले भन्छ भने संकलन राख्न तयार छु । त्यसमा सानो चित्त गर्दिनँ ।” उनले गीत तयार हुँदा यस्ता कुरामा गहिरो ढंगले नसोचेको बताए । शम्भु राईले भने सल्लाह गरेर अघि बढ्ने प्रतिक्रिया दिएका छन् ।

‘इन्स्टाको फोटो…’ विवादपछि बाँस्कोटाले पनि ‘कपी’, ‘चोरी’ जस्ता शब्द प्रयोग नगरी कार्ला ब्रुनीको गीतबाट धेरै प्रभावित भएको अभिव्यक्ति दिएका थिए । इमानदारी हुन्थ्यो भने गीत सार्वजनिक गर्ने बेलैमा ब्रुनीलाई ‘क्रेडिट’ दिनुपर्ने होइन र ? बाँस्कोटा किन पनि ज्यादै आलोचित भए भने उनलाई त्यसअघि पनि चोरीको आरोप लागेको थियो । मञ्जरी फिल्मका लागि उनले कम्पोज गरेको ‘मन यो मेरो हजुर…’ हिन्दी फिल्म शोर इन द सिटीको ‘सैबौ…’ सँग काटीकुटी मिल्छ । उनको ‘ठमेल बजार…’ गीत पनि विवादमुक्त हुन सकेन । डमरुको डन्डीबियो फिल्मका लागि ‘ तीतेपाती तीतेपाती…’ कम्पोज गरे । गायक प्रकाश पौडेलले आफ्नो यही शीर्षकको गीतबाट कपी गरेको आरोप लगाए, बाँस्कोटालाई । पौडेलका अनुसार ‘तीतेपाती तीतेपाती…’ गीत ०५७ मा रेकर्ड भएर अर्को वर्ष सार्वजनिक भएको थियो ।

अल्मोडा राना उप्रेती बारम्बार चोरी गर्छन् । गीत विवादमा फसेपछि बोल्दै–बोल्दैनन् । यी गायक हिजोआज खासै सक्रिय छैनन् । हिट भएपछि बजारले धेरै गीत अपेक्षा राख्छ । कन्सर्टमा जान हतारो हुन्छ । साधना घट्छ । ‘माया मेरी माया…’ जस्तो सदाबहार हिट गीतका गायक सञ्जय श्रेष्ठका अनुसार एक पटक लाइमलाइटमा आएपछि अरूसँग प्रतिस्पर्धा गर्ने आत्मविश्वास हुन्न, आफ्नै सिर्जनामाथि विश्वास हराउँछ । तर हिटको लत लागिसकेको हुन्छ । गायक श्रेष्ठ भन्छन्, “त्यसैले चोरेरै हिट हुन खोज्छन् । यो गीत अरूले नसुनेकाले चोर्‍यो भने थाहा पाउँदैनन् भनेर सोचेका हुन सक्छन् । तर अचेल कलाकारभन्दा दर्शक/श्रोता कम बाठा छैनन् ।”

इन्टरनेटको पहुँचले दर्शक/श्रोता सचेत भएको सत्य पनि हो । अन्यथा उबेला दीपक वज्राचार्यले गाएको ‘ओ अमिरा…’ विल्किन्सको ‘मार्गरिटा…’ बाट चोरिएको हो भन्ने भेद कसरी खुल्थ्यो ? कुनै नयाँ युट्युबमा अपलोड होस्, कुन शब्द, सुर, ताल अर्को कुन गीतसँग मिल्छ, कमेन्ट आइसकेको हुन्छ । तैपनि चोर्नेहरू हच्किएका छैनन् । यसको निदान के होला ? लोकगायक बस्नेत भन्छन्, “अब चोर कलाकार र चोरिएका गीतलाई वहिष्कार गर्ने अभियान नै चलाउनुपर्छ । हामी पीडित कलाकार मात्र होइन, दर्शक/श्रोताको पनि दायित्व हो यो ।”


नियम नभएको होइन

गीत चोरीको लहर हेर्दा लाग्छ, प्रतिलिपि अधिकारसम्बन्धी नेपालमा कानुनै छैन । तर त्यस्तो होइन । नेपालको संविधानको धारा २५ को उपधारा १ मा सम्पत्तिसम्बन्धी हकको प्रावधान छ । सम्पत्तिअन्तर्गत बौद्धिक सम्पत्ति पनि पर्ने उल्लेख छ । संगीत यसमै पर्ने भइहाल्यो । त्यस्तै प्रतिलिपि अधिकार ऐन, ०५९ र प्रतिलिपि अधिकार नियमावली, ०६१ मा साहित्य, कला, ज्ञान–विज्ञान र मौलिक एवं बौद्धिक रूपले प्रस्तुत गरिएका रचनामा रचयिताको हक लाग्ने व्यवस्था छ । रचयिताको अनुमतिबिना उसको सम्पत्ति प्रयोग गर्न पाइँदैन । व्यावसायिक प्रयोजनका लागि अरूका गीत गाउनु वा नक्कल गर्नुलाई पनि अपराध मानिएको छ ।

प्रतिलिपि अधिकार ऐनमा सर्जकको प्रतिलिपि अधिकार हनन भएमा १० हजारदेखि १ लाख रुपैयाँ जरिवाना, ६ महिना कैद वा दुवै सजाय हुन सक्छ । दोस्रो पटकदेखि पटकैपिच्छे सिर्जना चोरी गर्नेलाई २० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना वा एक वर्ष कैद वा दुवै सजायको व्यवस्था छ । त्यस्तै त्यसरी पुनरुत्पादन गरिएका सामग्री जफत हुने र प्रतिलिपि अधिकारप्राप्त व्यक्तिलाई परेको नोक्सानीको क्षतिपूर्ति भराइदिनुपर्ने उल्लेख छ ।

प्रकाशित: असार २, २०७६, नेपाल राष्ट्रिय साप्ताहिक ।


Share
  •  
  •  
  •  
  •