‘सिधाकुरा जनतासँग’का रिपोर्टर शालिकराम पुडासैनी चितवनमा मृत भेटिए

काठमाडौं । नेपाली टेलिभिजनको चर्चित कार्यक्रम ‘सिधाकुरा जनतासँग’का रिपोर्टर शालिकराम पुडासैनी चितवनमा मृत भेटिएका छन् । चितवन पुगेका पुडासैनीले सोमबार राति पोखरा बसपार्कस्थित होटल कंगारुमा मृत भेटिएका हुन् ।

सोमबार दिउँसो साढे ३ बजे होटलमा चेकइन गरेका पुडासैनीलाई बेलुकी मृत भेटिएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । राति पौने १० बजे खाना खानको लागि बोलाउन जाँदा ढोका नखोलेपछि, ढोका खोलेर हेर्दा भुण्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दान बहादुर मल्लले जानकारी दिनुभयो ।

शव झुण्डिएको र भित्रैबाट ढोका लक भएकोले पनि आत्महत्या नै गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । अन्य विवरण पोस्टमार्टमपछि पत्ता लाग्ने प्रहरी उपरीक्षक मल्लले जानकारी दिनुभयो । शवलाई अहिले पोस्टमार्टको लागि लैजाने तयारी भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विगत दुईवर्षदेखि न्यूज २४ टेलिभिजनको लागि नुवाकोटबाट रिर्पोटिङ गर्दै आएका उनी एकवर्षदेखि काठमाडौंको केन्द्रीय कार्यालयमै रहेर रिर्पोटिङ गर्दै आएका थिए । खोज पत्रकारितामा रुची राख्ने पुडासैनी यसअघि निरन्तर पत्रकारितामै सक्रिय थिए । कखरा डट कमबाट साभार