कृष्ण बहादुर महरा र सिताको ३० वर्षे अटूट् प्रेम कथाः महराले सितालाइ कहिले दिदी भन्थे,

याे लेख दियाे पाेस्ट बाट साभार गरिएकाे हाे ।

काठमाडौं,  पल्लो गाउँका एकजना ‘मास्टर’ घरमा आइरहन्थे । उनी मास्टरलाई पानी दिन्थिन् । ‘मास्टर’ले उनलाइ कहिले दिदी भन्थे, कहिले बहिनी भन्दै जिस्काउँथे । उनी लजाउँथिन् । सीता १७ वर्षकी थिइन्। घरमा बिहेको कुरा चल्यो । घरमा आफ्नो बिहे गरिदिने तयारी चलिरहेको थियो । तर सितालाई थाहा थिएन् ‘मेरो विहे कोसँग हुँदैछ ?’परिवारले बिहे गरिदिने भनेपछि ‘नाइँ’ भन्न नपाइने जमना थियो । जोेसंग बिहे गरिदिन्छन् उसैसंग बिहे गरेर जानु पर्ने चलन थियो । केही दिन भित्रै केटा पक्षबाट केटीको हात माग्न आउने साइत जुराइएको थियो । सिताको मनमा उत्सुक्ताको एउटा प्रश्न थियो–‘मलाई माग्न आउने केटा को होला ?’

एकिदन साँझ परेपछि घरमा केही मान्छेहरु आए । ती मध्ये आफूलाई जिस्काउने ‘मास्टर’ पनि थिए । ‘मास्टर’को उपस्थितिले उनलाई झस्काइदियो । मन भित्र एउटा प्रश्न गुम्सिरहेको थियो,‘कतै मलाई जिस्काउने यीनै मास्टरसँग मेरो विहे हुँदै त छैन ?’ केहीबेर रहस्यको गर्भमा गुम्सिएको उनको प्रश्न यथार्थमा परिणत भयो । तिनैसँग सीताको बिहेको कुरा पक्का भयो । उनी थिए – कृष्ण बहादुर महरा ।

‘मलाई त पत्यार नै लागेको थिएन उहाँसंग मेरो बिहे हुँदैछ भनेर,’ सभामुख कृष्ण बहादुर महराकी पत्नि सितालाई अहिले पनि त्यो पल आश्चर्य लागि रहेको छ ।

००० ०००


महराका बुवा भने कामको शिलसिलामा भारतमा थिए । बिहे गर्ने बेलामा महरा पढाई सकाएर गाउँमा मास्टर भइसकेका थिए । माओवादी हेडक्वार्टरको रुपमा परिचित रोल्पाको सदरमुकाम नजिकै धारापानी भन्ने गाउँमा कृष्णबहादुर महराको घर थियो ।

५ साउन २०१८ मा रोल्पाकै गजुलमा जन्मेकी सीता परिवारकी जेठी छोरी थिइन् । उनका बुवा गाउँकै स्कुलमा शिक्षक थिए । बुवा शिक्षक भए पनि त्यतिबेला छोरीलाई पढाउनु पर्छ भन्ने लहर चलिसकेको थिएन । छोरीलाई ‘अर्काको घर जाने जात’ भनिन्थ्याे । तर सीताले ‘पढ्छु’ भनेर केही समय स्कुल गइन् । दुई बहिनी र एक भाईको जन्म पश्चात सीतामाथि घरको जिम्मेवारी थपियो । उनले पढ्न छाडिन् ।

एकदिन घरमा बुवा र आमाबीच ठाकठुक पर्यो । बुवा घर छोडेर भारततिर लागे । त्यसपछि उनी स्कुल जानै पाइनन् । उनी २/३ कक्षासम्म स्कुल गइन् । घरको आर्थिक अवस्था पनि राम्रै थियो । खान लाउन पुग्थ्यो तर कामको साह्रै दुःख थियो । त्यसैले पनि उनी स्कुल जान पाइनन् ।

‘त्यतिबेला बुवा आमाले हामीलाई पढाउन सक्नु हुन्थ्यो तर छोरीलाई पढाउने चलन नभएर पनि हामीले पढ्न पाएनौँ,’ सीताले आफ्नो वाल्यकाल सम्झिन्छिन् । आफुले पढ्न नपाएको प्रति अहिले पनि उनलाई पछुतो लाग्छ ।

२०३५ सालमा सीताको महरासंग बिहे भयो । माइतीबाट घर पुग्न २ घण्टाको बाटो हिँड्नु पथ्र्यो । धारापानीस्थित महरा जन्मेको घरलाई मुल घर भनिन्थ्यो । सीता दुलही भएर त्यही मुल घरमा भित्रिएकी थिइन् । महराको घरमा खान–लाउन कुनै कमी थिएन तर उनलाई आह्राई सिकाई गर्ने सासु थिइनन् । आमाको काखमा रमाइरहेकी १७ वर्षे किशोरीले आफै आमाको भूमिकामा एक्लैले घर सम्हाल्नु पर्ने बाध्यता थियो ।

‘उहाँ सानै छँदा उहाँको आमा बित्नु भएको रे, बिहे गरेर जाँदा घरमा ससुरा मात्रै हुनु हुन्थ्यो,’ उनलाई त्यो समयको सम्झना छ ।

सिताको ससुरा पनि कामको शिलसिलामा भारतमै बस्थे । बिहेपछि सासु मात्रै होइन, नन्द–आमाजु, देवर–जेठाजु समेत कोहि थिएनन् । महरा एक्लो छोरा थिए ।

तर आफु बुहारी भएर घरमा भित्रिदाँ अरु महिलाहरुले जस्तो बुहार्तन भोग्नु नपरेको उनको सम्झना छ । महराले लिवाङ्गको एउटा हाइस्कुलमा पढाउथे । उनी घर व्यवहार सम्हाल्थिन् । बिहेको केही वर्षपछि पहिलो सन्तानको रुपमा छोरी जन्मिइन्– तेजकुमारी महरा । भूमिगतकालमा उनको नाम उन्नती राखियो । उन्नती हुँर्कदैँ थिइन् । त्यसको केही वर्ष भित्रै जेठा छोरा निर्मल जन्मिए । त्यसपछि क्रमश : प्रगती र राहुल जन्मिए । सीता चार सन्तानकी आमा बनिन् ।

छोराछोरीको स्याहार–सुसार उनीहरु दुबै मिलेर गर्थे । जागिरे समयमा शनिबारको दिन बच्चाहरुलाई नुहाइदिने, कपडा धोइदिने काम महराको हुन्थ्यो । ती दिनहरुमा सीता आराम गर्थिन् । महराले घरको काममा पनि उत्तिकै सघाउथेँ । वास्तवमा जिन्दगीको यात्रा घमालोसँग चल्दै थियो । दुबै जना आफ्ना छोराछोरीको खुसीमा रमाउथे।

कृष्ण बहादुर महरा गाउँमा हाइस्कुलमा शिक्षक थिए । २०४८ सालताकाको कुरा हो । एकदिन महरा घरमा आए र सीतालाई भने,‘म जागिर छोडेर राजनीतिमा लाग्छु ।’ श्रीमानले जागिर छा्ड्दा चारजना बच्चा हुर्काउन, पढाउन मुस्किल हुने सिताको चिन्ता थियो । उनले जागिर नछा्ड्न भनिन् । यता महराले भने औपचारिक रुपमै स्कुलबाट राजिनामा दिने मनस्थिति बनाइसकेका थिए ।

खाइपाई आएको जागिर छोडेर राजनीति गर्ने कुरा सीतालाई खासै चित्त बुझेको थिएन । ‘राजनीति गरेर पैसा आउँदैन, घर व्यबहार कसरी चलाउने’ भनेर सीताले श्रीमानलाई नसम्झएकी पनि होइनन् । तर श्रीमानकोे अन्तिम निर्णय नै जागिर छोड्ने भएपछि उनले रोकिनन् । भनिन्, ‘तपाईंले यही नै निर्णय गर्नुभएको हो भने ठिकै छ, राजिनामा दिनुस्, मैले दुःख सुख गरेर भएपनि केटाकेटी सम्हालुँला ।’ श्रीमतीले यति भनेपछि महराले सहमतीको टाउको हल्लाए । त्यसको केही दिनमै महरा स्कुलबाट राजिनामा दिएर तत्कालिन ‘संयुक्त जनमोर्चा नेपाल’ पार्टीको पूर्णकालिन राजनीति हाेमिए ।

‘त्यतिबेला मैले रोकेको भए श्रीमतीले रोकेर केही गर्न पाइएन भन्ने खालको गुनासो पनि हुन्थ्यो होला, त्यही भएर मैले रोकिन,’ सिताले भनिन् ।

नेपाली समाजका प्रायः श्रीमतीको चाहना हुन्छ,–श्रीमानले कमाएर ल्याओस्, हरेक दुःखमा श्रीमानले साथ देओस, आफ्नै सानो संसार होस्, लाउन खान कुनै कमी नसोस्, श्रीमान र छोरा–छोरीको साथमा रमाएर बस्न पाइयोस् ।’

तर सीताले त्यो सपना देखिनन् । सरकारी जागिर छोडेर राजनीतिमा हाम फालेका महराले परिवारको खुसी भन्दा देश र जनताको खुसीलाई आफ्नो ठाने । महरा भन्छन्, ‘त्यतिबेला मैले घरपरिवार मात्रै आफ्नो संसार ठानेको हुन्थे भने देशमा यो परिवर्तन संभव पनि हुने थिएन ।’ २०४९ सालमा भएको आम निर्वाचनमा महरा रोल्पाबाट संसदमा निर्वाचित भए । संसद भएपछि महराले घर परिवारलाई समय दिन पाएनन् । घरब्यवहार सीता एक्लैले सम्हाल्थिन् ।

२०५१ सालमा भएको मध्यावधी निर्वाचन पश्चात पार्टीले जनयुद्धमा जाने कठोर साेँच थियोे । त्यसको एक वर्षपछि फगुन १ गते जनयुद्धको घोषणा भयो । तर महरा भने माघ २९ गते नै भूमिगत हुँने भन्दै घरबाट निस्किए । महरा घरबाट निस्कँदा कान्छी छोरी प्रगतीले रुँदै ‘नजानुस् बावा’ भनेको महराले अझै बिर्सेका छैनन् ।

‘मैले भूमिगत भएर घर छोड्ने कुरा गर्दा छोरीले नजानुस बाबा भनेर रोएकी थिइन्,’ महरा भन्छन्,‘त्यतिबेला कठोर मन लिएर बाहिरिएको थिएँ ।’

जनयुद्ध घोषणा गरे लगत्तै तत्कालिन नेकपा माओवादीका नेताहरुलाई तत्कालिन राज्यले प्रतिबन्ध लगाएको थियो । नेताहरुको टाउकाको मुल्य तोकिएको थियो । त्यतिबेला महरा रोल्पाकै जङ्कोटमा जनताको घरदैलोमा राजनीतिक प्रशिक्षणमा व्यस्त थिए । यता श्रीमानलाई सम्झेर सीताको आँखामा आँशुको ढिक्का ओइरिरहन्थ्यो । कयौँ रात अनिदो वित्यो । आँशुले सिरानी भिजे । उनले साना बाल‍‍ बच्चा हेरेर चित्त बुझाउँथिन् । समाचारमा माओवादी कार्यकर्ताको मृत्यु भएकोे, ठाउँ–ठाउँमा भिडन्त भएको खवरले उनलाई अत्यास लाग्थ्यो । ‘कतै उहाँ पनि भिडन्तमा पर्नु भयो कि ?’ डरले उनको मुटु काँप्थ्याे ।

महरा भूमिगत भएलगत्तै सीता आर्थिक संकटबाट गुज्रिन थालिन् । घर व्यवहार चलाउन निकै मुस्किल भयो । चारजना बच्चाको जिम्मेवारी एक्लैले सम्हाल्न मुस्किल थियो । उनले खसी–बाख्रा बेचेर घर खर्च चलाउँथिन् । खेतबारीको काममा सहारा दिने कोहि थिएनन् । त्यसैले खेतमा अँधिया खेती गर्न दिइन् । अँधियाबाट केही मुरी धान आउँथ्यो । त्यसैबाट जेनतेन निर्वाह निर्वाह हुन्थ्यो ।

यता राज्य पक्षबाट सितालाई यातना दिने क्रम शुरु भयो । ‘दिनहुँजसो, ‘तेरो श्रीमान कहाँ छ ? तेरो श्रीमानलाई भर्खरै बोला, नत्र तिमीहरुलाई मारिदिन्छौँ’ भन्दै प्रहरीले मानसिक यातना दिने गर्थे,’ सितालाई तत्कालिन राज्यको व्यबहार स्मरण छ,‘पकाएको खाना समयमा खान नपाइने, आफ्नै घरमा पनि आरामसंग निदाउन नपाइने, कति बेला प्रहरी आएर पक्रेर लैजान्छन् र मार्छन भन्ने त्रासमा बाँच्नु पथ्र्यो ।’

एक दिन एकाबिहानै प्रहरी आएर परालमा आगो लगाइदिए । बच्चाहरुको किताब कपी र केही खाद्यान्न पनि परालसंगै जलाइदिए । घरको कुना–कुना खानतलासी गरे । घरि–घरि मार्ने धम्की दिन्थे । राती ९ बजेसम्म घरको आगनमा आगो बलिरहेको थियो । कपि किताव आगोमा जलेपछि बच्चाहरु एक महिना सम्म स्कुल जान पाएनन् । नयाँ किताव किन्नका लागि सीतासंग पैसा थिएन । प्रहरीको डरले पनि बच्चाहरु स्कुल जान मानेनन् ।

त्यो घटनाको केही दिनपछि पुनः प्रहरी घरमा आए । ‘तेरो श्रीमान घर आयो कि आएन, चीठी पठाएको होला, के लेखेर पठाएको छ’ भन्दै सीतालाई प्रश्न गरे । सीताले आफुलाई थाहा छैन भन्दै उम्किन खोजिन् । तर प्रहरीले उनको कुरा पत्याएनन् । ‘तेरो श्रीमानलाई नबोलाएसम्म तँलाई थुनेर राख्छौ’ प्रहरीहरु भन्दै थिए । प्रहरीले उनको हातमा हतकडी लगाएर ‘हिँड’ भन्दै धकेलेर भ्यानमा हाले । लालाबालाको रुवाबासी चल्यो ।

दायाँबाट क्रमश : उन्नति, निर्मल, प्रगती र राहुल

सीताको घरमा एकजना काका ससुरा नाता पर्ने बाजे बस्थे । उनले घरको काममा सघाउँथे । उनी केहीे सुस्तमनस्थिति स्वभावका थिए । उनलाई सबैैले ‘लाटाबाजे’ भनेर बोलाउँथे । ती बाजेलाई पनि हतकडी लगाएर प्रहरीले भ्यानमा कोच्यो । भ्यानमा लाटा बाजे बाहेक अरु सबै अपरिचत थिए । बोल्न पनि नजान्ने, ‘लाटा बाजे’लाइ प्रहरीले किन पक्रिएको होला,’ सिताको मनमा प्रश्न उठेको थियो । तर प्रहरीले ‘यो लाटो होइन, महराकाे सिआइडी हो’ भन्दै ती बृद्धलाई निकै कुटे ।

सीता पनि भ्यानभित्रै कुटिइन् । बाटैभरि कुट्दै–कुट्दै प्रहरीले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय लिवाङ्ग पुर्याए । प्रहरीको कुटाइबाट ‘लाटाबाजे’कोे टाउको फुट्यो ।

यता सितालाई माओवादी भएको आरोपमा एक महिना हिरासतमा राखियो । हिरासत बसाईँका दिन सम्झँदा सिताको शरीरमा अहिले काँडा उम्रन्छ । ‘दिनहुँ शारिरिक र मानसिक यातना दिन्थे । घरमा स–साना बच्चाहरु मात्रै थिए,’ सिता भन्छिन्,‘बच्चाहरुले के खाए होलान्, कसो गरे होलान् । म हिरासतमै दिनरात बच्चाहरुको यादले रोएर बसेँ ।’

एकदिन उनले प्रहरीसंग अनुरोध गरिन्, ‘मेरो श्रीमान राजनीति गर्ने मान्छे, उहाँ जता पनि जान सक्नु हुन्छ । म जस्तो खेती किसानी गरेर बच्चा पालेको मान्छेलाई थुनेर के गर्नु हुन्छ ? मलाई छिटो छोडिदिन पर्यो, मेरो बच्चाहरुको बिचल्ली भयो ।’

त्यसको केही दिनपछि उनलाई प्रहरीले तारिखमा छोडिदिए ।

उनीसंगै जेल परेका लाटा बाजेलाई पनि तारिखमा छाडियो । ‘लाटाबाजे’ एक दिन बिराएर तारिखमा जान्थे ।

बनमा काँचो दाउरा काटेको भएर आफुलाई प्रहरीले पक्राउ गरेको होला भन्ने लाटा बाजेलाई भ्रम थियो ।

तारिखमा जाँदा प्रहरीले ती लाटा बाजेलाई सोध्थे–‘तेरो महरा सर घरमा आउँछ की आउँदैन’ जवाफमा ती बृद्ध भन्थे,– ‘अव मैले बन गएर काँचो दाउरा काट्दिन हजुर, वन नै जाँदिन बरु, मैले अब यस्तो गल्ती गर्ने छैन, मलाई छोडिदिनुस् ।’ उनको कुरा सुनेर प्रहरी पनि हाँस्थे ।

त्यसपछी ‘यो मान्छे त सोझो रहेछ’ भनेर लाटा बाजेलाई प्रहरीले छोडिदिए । त्यो भन्दा पहिले ‘महराको सिआइडि’ भनेर लाटा बाजेले निकै कुटाइ खानु पर्यो ।

००००
कृष्ण बहादुर महरा भूमिगत भएको २ वर्ष नाघिसकेको थियो । २०५४ साउन २९ गते साँझकाे कुरा हाे । बच्चाहरु आगनमा खेल्दै थिए । केही परबाट नयाँ मान्छे आएको देखेर सीताले श्रीमान र उनका साथीहरु आएको अड्कल काटिन् । तर उनीहरु प्रहरी थिए । घरमा पुगेपछि मात्र उनले थाहा पाइन् । प्रहरीले उनकोे घर घेरे ।

प्रहरीले सीताकोे पाखुरामा समातेर ‘हिँड’ भन्दै धकेले । घरको पीँडिमा उभिएकी उनले ‘कहीँ जान्न’ भन्दै अड्डी लिइन् । प्रहरीले ‘तँलाई आजै मारिदिन्छु, तेरो आज अन्तिम दिन हो’ भनेर धम्की दिए र उनकोे गर्धनमा बन्दुकको नालले प्रहार गरे । उनलाई असैहय पीडा भयो । प्रहरीको हातबाट मर्नु भन्दा भागेर ज्यान जोगाउनु उत्तम भन्दै उनी प्रहरीको घेरा तोडेर भागिन् । घरको पीडिबाट एकै चोटी कान्ला नाघेर मकै बारीमा पुगेकी उनलाई लखेट्दै प्रहरीहरु जंगलसम्म आए । तर उनलाई भेट्न नसकेर फर्किए ।

बच्चाहरु पनि लाखापाखा भएछन् । घरमा रातभरी बत्ति बलिरहेको थियो । प्रहरीले राती
अवेरसम्म खानतलासी गरिरहेका थिए ।

राती अबेर सम्म बच्चाहरुसंग भेट हुन सकेन । बच्चाहरु पनि आमालाई खोज्दै जंगलसम्म पुगे । आमालाई नभेटे पछि बच्चाहरु रुदैँ बाँसको झ्याङमा लुकेर बसे । रात निकै छिप्पी सकेको थियो । बाघ भालुको डर पनि उत्तिकै भएकाले सीता निकै आत्तिएकी थिइन् । त्यतिबेला कान्छा छोरा राहुल ८ वर्षका थिए । साना बच्चालाई कतै ‘बाघले खायो कि, या सर्पले डस्यो कि?’ यही सुर्ताले सीता बेचैन बनिन् । खोज्दै जाँदा बच्चाहरुलाई बाँसको झ्याङ्ग भित्र भेटेपछि उनी खुसी भइन् ।

बाँसको झ्याङ्गमै बसेर छोरा–छोरी र आमाले केही खासखुस गरे । उनीहरुको आवाज रुखमा बास बसेको चराले पनि सुन्यो या सुनेन । तर आमा र सन्तान बीच केही सल्लाह भइरहेको थियो । तेज कुमारी ‘उन्नती’ अलि कुरा बुझ्ने भइसकेकी थिइन् । सीताले छाेरीलाइ घर जानका लागि आग्रह गरिन् । तर उन्नतीले घर नजाने भन्दै रुन थालीन् । ‘घर गयो भने प्रहरीले मार्छन, बरु यतैबाट भागम आमा’ उन्नतीले यसो भनेपछि आमा सितालाई दबाव बन्यो ।

त्यतिबेला सम्म सीताले भूमिगत हुन्छु भनेर सोँचेकी पनि थिइिनन् । बिहे गरेर पहिलो पटक भित्रिएको घर, दुख गरेर संम्हालेको घर, लिपपोत गरेर चिटिक्क पारेको आगन, खेतिपाती, गाई–बाख्रा, वालबच्चा सबै उनकाे प्रीय संसार थियो ।वास्तवमा उनले घर र सन्तानको मायामा आफ्नो सानो संसार बनाएकी थिइन् र यसैमा रमाएकी पनि थिइन् ।छोरीको ढिपी, राज्यको दमन र बच्चाहरुको मायाले सीतालाई घर छोडेर हिँड्न वाध्य बनायो । त्यो रात खाली खुट्टा जंगलको बाटो दुई छोरी र कान्छो छोरा राहुललाई लिएर उनी अघि बढिन् । निर्मल भने दिउँसै साथीको घरमा किताव लिन भन्दै गएका थिए । निर्मल उतै छुटे । कहाँ जाने कुनै टुंङ्गो थिएन । रात निकै छिप्पिसकेको थियो । चारै तिर सुनसान र अध्याँरो थियो । लरी खोला एकतमासले आफ्नै सुरमा बगिरहेको थियो । भ्याँउकिरीकोे आवाजले टाढाको आवाज सुन्न सकिदैनथ्यो । जलजला हिमालको चिसो हावाले कान ठिहिर्याएको थियो । लगातारको हिँडाई, भोक र प्यासले बच्चाहरु निकै गलिसकेका थिए ।

हिँड्न नसकेपछि लालाबाला रुन थाले । बाटो नजिकै साइला ससुरा नाता पर्नेकोे घर थियो । सीताले उनै साइला ससुराको घरमा गएर बास बस्ने निर्णय गरिन् । घरको आगनमा पुगिन् र बोलाइन् । एकछिन त कसैले ढोका खोलेनन् । रातको समयमा कोही नयाँ मान्छे आए भनेपनि गाउँमा कसैले ढोका खोल्दैनथे ।

सीताले आफुहरु ‘बिचल्ली’मा परेर आएको कुरा बाहिरैबाट बिस्तारै सुनाइन् । अनि ढोका खुल्यो । त्यो कहालीलाग्दो रातमा साइला ससुराको घर उज्यालो बनेर आइदियो ।

सीताले आफ्ना बच्चाहरुलाई भित्र लिएर गइन् । चुलाको छेउमा बसेर आफुमाथि भएको घटनाका बारेमा साइला ससुरासंग सबै बेली बिस्तार लगाइन् उनले । उनको कुरा साँइला ससुराले बढो गंभिर मुद्रामा सुनिरहेका थिए । केही क्षण सन्नाटा छायो । सीता कुरा गर्दा–गर्दै भक्कानिन्थिन् ।
एकै छिनको मौनता भंग गर्दै साइला ससुराले भने,– ‘च्वच्वच्व….. तिमीहरु बढो आपतमा परेछौ, यी केटाकेटीको ज्यान जोगाउनु छ भने अव घर नजाऊ । परिस्थिति ठिक छैन, कतिबेला प्रहरी आएर गोली हानेर मार्ने हुन् ।’ उनले भूमिगत भएर ज्यान बचाउनका लागि सीतालाई सल्लाह दिए । कान्छी छोरी प्रगती र राहुल सानै थिए खासै कुरा बुझ्दैनथेँ । उन्नतीले आमा र साइँलाबा बीचको कुरा चाख मानेर सुनिरहेकी थिइन् । साइला ससुराको आग्रह पश्चात उनीहरु त्यो रात त्यही बसे ।

यता, जेठा छोरा निर्मलबारे कुनै खबर आएको थिएन । सीतालाइ छाेराकाे निकै अत्यास लागेको थियो । साथीको घरमा बसेका निर्मललाई पनि घरमा भएको घटनाका बारेमा केही थाहा थिएन । उनी अर्को दिन बिहान घर फर्किए । घर सुनसान थियो । बिहानसम्म घरमा बत्ति बलिरहेको देखेर निर्मल झस्के । घरमा आमा नभएको संकेत उनले पाइसकेका थिए । भाइबहिनी आगनमा खेलेको पनि उनले देखेनन् । निर्मलले कान्लामाथिबाटै अड्कल काटे, ‘घरमा केही गडबडी भएको छ ।’ त्यतिबेला उनले घर जानु उपयुक्त ठोनेनन् । अब के गर्ने ? आमा, भाइ–बहिनी र दिदी कहाँ गए होलान् ? कतै प्रहरीले मार्यो कि ? या कतै भागेर ज्यान जोगाए कि ? उनको मनमा यस्तै अनगिन्ती प्रश्नहरु उब्जिए । निर्मल ‘साइला बाजेको घर तिर लागे ।

साइला बाजेको घरमा आमा, भाइ–बहिनी र दीदीलाई देखेर निर्मलले सन्तोषको स्वास फेरे । हिजो दिउँसोदेखि सम्पर्कबिहिन भएको छोराको सुर्तामा डुबेकी सीता पनि निर्मल आए पछि खुसी भइन् । साइला बाजेले निर्मललाई पनि सम्झाए । उनकोे सल्लाह पश्चात सीता पार्टीको सम्पर्कमा पुगिन् र चार सन्तानलाई लिएर पूर्णकालिन रुपमा भूमिगत भइन् ।

०००

यसरी एउटी आमाको भूमिगत जीवन शुरु भयो । साना बच्चाहरुलाई संगै लिएर हिँड्न निकै कठिन थियो । सुरक्षा चुनौति पनि उत्तिकै थियो । तर पनि उनले जनताको घरमा आफुलाई सँधै सुरक्षित महसुस गर्थिन् ।

२०५६ सालताका सीताले प्रगती र राहुललाई लिएर दाङ्ग झरिन् । उन्नती र निर्मल भने पार्टी मै पूर्णकालिन भइसकेका थिए । उन्नती ‘जनकलाकार’ थिइन् । गाउँ–गाउँमा जनताका गीत गाउँदै हिड्थिन् । निर्मल भने जनमुक्ति सेनामा आवद्ध भइसकेका थिए । त्यतिबेला सीताले दाङ्ग पुगेर एक जना आफन्तको सहयोगमा कोठा खोजिन् । बच्चाहरुलाई नजिकैको एउटा स्कुलमा भर्ना गरिदिइन् र आफु पनि भूमिगत शैलीमा दाङ्गमै लुकेर बसिन् । श्रीमानसंग दुई महिनादेखि सम्पर्क भएको थिएन । महरालाई परिवारमाथि भएको अत्याचारका बारेमा पनि केही जानकारी थिएन । कहिलेकसो बिस्वासिलो मान्छेको साथमा महराले चिठी पठाउने गर्थे ।

दाङ्गमा पनि सुरक्षा चुनौतीे टड्कारो थियो । कोही नयाँ मान्छे देख्यो कि प्रहरीले पक्रेर जेल हाल्थे । जनताको घरमा भन्दा दाङ्गको बसाई निकै चुनौतिपूर्ण थियो उनका लागि । त्यसैले उनले दुईजना बच्चाको नाम परिवर्तन गरेर स्कुलमा भर्ना गरिदिएकी थिइन् । छिमेकीहरुले ‘तपाईको श्रीमान कहाँ हुनु हुन्छ’ भनेर सोध्थे । जवाफमा सिता भन्थिन्,‘मेरो श्रीमान त कान्छी श्रीमती लिएर इन्डियातिर गएर बसेको छ । ड्राइभर हो, उतै गाडी चलाउँछ रे, अरु त केही थाहा छैन’ । उनी आफै पनि त्यहाँ आफ्नो परिचय लुकाएर बसेकी थिइन् । उनी दाँङ्गमा लगभग २ वर्ष वर्ष जति बसिन् ।

सीताले २०५८ सालमा दाङ्ग छोडेर फेरि उनी युद्धमै फर्किइन् । प्रगती र राहुल पनि पढाई छोडेर पार्टीमा लागे । त्यसपछि घरका सबैजना पार्टीमा भूमिगत भए । सीताले पार्टीले चलाएको घरेलु उद्योगमा काम गर्न थालिन् । उद्योगमा सल, धोती सुइटर बुन्ने काम हुन्थ्यो । सुरक्षा चुनौतिका कारण बेला–बेलामा उद्योग सारिरहनु पथ्र्यो । उक्त उद्योग ५ वर्षसम्म चल्यो । पछि देशमा सेना परिचालन भएपछि सेनाले जलाइदिए ।

२०५८ सालमा तत्कालिन सरकार र माओवादीबीच पहिलो पटक शान्ति वार्ता हुने भयो । कृष्ण बहादुर महरा वार्ता टोलीको संयोजक भएर काठमाडौ आए । वार्ताको समयमा तीन महिनासम्म महरा काठमाडौँमै बसे । त्यतिबेला सीता पहिलोपटक महरासँगै राजधानी आएकी थिइन् । पहिलो वार्ता भंग भएको २ वर्षपछि पून २०६० सालमा डा. बाबुराम भट्राईको नेतृत्वमा दोस्रो चरणको वार्ता हुने भयो । त्यतिबेला महरा वार्ताटोलीको प्रवक्ता भएर राजधानी आएका थिए । तर बिडम्वना त्यो वार्ता पनि सफल हुन सकेन । त्यतिबेला महरासंगै सीता ५ महिना राजधानी बसेर भूमिगत अवस्थामै रोल्पा फर्किइन् ।

माओवादीहरु जंगलमा बस्छन् भन्ने आम मान्छेलाई भ्रम हुन्थ्यो । तर आफुहरु जनताको बीचमा रहेको सीताले बताइन् । ‘दिनभरि जनतासंग काम गथ्र्यौ, रात परेपछि जनताहरुलाई जम्मा गरेर संगठन बनाउने काम हुन्थ्यो, नेताहरुले जनयुद्धका बारेमा कक्षा दिने गर्नु हुन्थ्यो । हामीहरु पनि जिल्ला जिल्ला पुगेर संगठन निर्माण गथ्र्यौ,’ सीताले अनुभव सुनाइन् ।

०००


२०६२/६३ मा राजतन्त्र विरुद्ध १९ जन आन्दोलन हुने भयो । माओवादी पनि उक्त आन्दोलनमा सहभागि भए । जनआन्दोलन पश्चात देशको राजनीतिले केही काँचुली फेर्यो । आन्दोलनको सफलापछि १० वर्षे सशस्त्र युद्ध त्यागेर माओवादीले बन्दुक बिसाए । बृहत शान्ति सम्झौता भयो । राजतन्त्रको अन्त्य भयो । मुलुक गणतन्त्रमा प्रवेश गर्यो । त्यसपछि २०६४ सालमा पहिलो पटक माओवादी सरकारमा सामेल भएको थियो । सरकारमा कृष्ण बहादुर महरा पहिलाे पटक चारमन्त्री भए । महरा मन्त्री भएपछि सीता पनि राजधानी आइन् ।

जनताको घरदैलोमा भूमिगत जीवन बिताएकी सीता मन्त्री क्वाटरमा बस्न आइपुगिन् । तर, सितााई भने ‘जनताको घर दैलो नै प्यारो लाग्थ्यो ।

‘मन्त्रालयको क्वाटर भन्दा त भूमिगत जीवन नै ठिक थियो, मन्त्री क्वाटरमा सुरक्षा घेराबीच बस्नु पर्र्नेे, गाउँमासंगै हिँडेका, संगै खाएका साथीहरु कहाँ गए होलान भनेर याद आउथ्यो,’ सिता भन्छिन् । क्वाटरको बसाइँ पश्चात युद्धमा संगै हिँडेका साथीहरु सम्झेर बेला बेलामा सीताको मन कुडिन्थ्यो । जनताको घर दैलोमा जस्तोे रमाइलो र आफ्नो पन त्यहाँ थिएन ।

जनयुद्धमा प्रत्यक्ष दुख झेलेर मन्त्रालयको क्वाटरसम्म आइपुगेकी उनको भोगाई आम महिलाको भोगाई भन्दा नितान्त फरक छ । श्रीमान युद्धमा सामेल भएकै कारण आफु र सन्तानले भोगेको पीडा कसैसंग तुलना गर्न नसकिने खालको थियो । तर पनि उनले महरासंग आफ्नो भोगाइलाई लिएर कहिल्यै गुनासो गरिनन् । आफ्ना व्यक्तिगत समस्यालाई लिएर श्रीमानससंग झगडा गरिनन् ।

महरा आफै पनि नेपाली राजनीतिमा सफल नेता मध्येका एक हुन् । आफु राजनीतिमा सफल हुनुका पछाडी सीताको सकरात्मक सोँच र सरल व्यवहार मुख्य रहेको महरा बताँउछन् । उनको नजरमा सीता अत्यन्तै सहनशिल र सुख दुःखमा साथ दिने जीवन साथी हुन् । आफू सफल नेता हुनुमा सीताकोे भूमिका अतुलनीय सहयोग रहेको महराको बुझाई छ । वास्तवमा राजनीतिमा लागेपछि महराले परिवारलाई समय दिनै भ्याएका थिएनन् । तर पनि सीताले महरासंग यो विषयमा कहिल्यै गुनासो गरिनन् ।

०००


यतीबेला कृष्ण बहादुर महरा प्रतिनिधि सभाको सभामुख छन् । बालुवाटारमा सभामुखको लागि छुट्टै क्वाटरको ब्यवस्था छ । श्रीमान सभामुख भएयता सीता लगायत परिबार क्वाटरमा बसाई सरे ।
यद्यपी, श्रीमान राजनीतिमा लागेदेखि आफ्नोे बसाइको कुनै स्थायित्व नरहेको उनी बताउँछिन् ।

जनयुद्ध सुरु भएदेखि घर छोडेका उनीहरु अहिलेसम्म कैयौ पटक कोठा सरिसकेका छन् । शान्ति वार्ताको समयमा काठमाडौँ छिरेका उनीहरु सुरुमा कालोपुलमा डेरा गरि बस्थे । त्यहाँ ८ हजार भाडा तिर्नु पथ्र्यो । कहिले भक्तपुर, कहिले बालकोट, कहिले पेप्सीकोला त कहिले सुकेधारा र मण्डिखाटारसम्म कोठा सरेको सीताले बिर्सेकी छैनन् ।

काठमाडौँमा कोठा सर्न निकै गाह्रो हुने र घरबेटीले बचन लगाउने हुनाले काठमाडौँको बसाइ उनलाई सहज लागेको छैन । नेताका घरमा मान्छेको आवत–जावत धेरै हुने भएका कारण घर फोहोर हुने र पानी खर्च हुने भएकाले घरबेटीले नेताका परिवारलाई कोठा दिन नखोज्ने उनको अनुभव छ । घर बेटीको व्यवहारले उनी आजित छिन, भन्छिन्–‘घरबेटीले जे भने पनि सहनु पर्ने रहेछ, आफ्नो घरभए पो कसैले केही भन्न पाउँदैन ।’ राजनीतिमा अलिकती परिवर्तन हुने बित्तिकै कोठा सर्नु पर्ने वाध्यता रहेको उनले सुनाइन् ।

उनीहरु सभामुख क्वाटरमा बसाई सरेको एक वर्ष हुन लाग्यो । त्यो भन्दा पहिले पुल्चोकस्थित मन्त्रीक्वाटरमा बस्दै आएता पनि सभामुखको कार्यकाल सकिएपछि कहाँ जाने भन्ने कुनै टुङ्गो नभएको सीताले बताइन् ।

‘उहाँको अवधी सकिए पछि कहाँ जाने केही थाहा छैन, फेरि कोठा खोजेर बस्नु पर्ने त होला नि’ उनी भन्छिन् । रोल्पामा प्रहरीले भत्काइदिएको पुरानो घर छ । तर, घर बस्न नमिल्ने गरि जीर्ण बनेको छ । । श्रीमानले राजनीति गर्ने बेलासम्म काठमाडौँमै बस्ने र पछि के गर्ने भन्ने बारेमा उनीसंग कुनै दीर्घकालिन योजना छैन । राजनीतिले नै भावि योजना निर्धारण गर्ने उनलाई विश्वास छ ।
श्रीमान राजनीतिमा व्यस्त रहँदा क्वाटरमा सीताको दिन चर्या कसरी बित्ने गर्छ त ?

महरा दिनभरि संसद र राजनीतिक भेटघाटमा व्यस्त रहने गर्छन् । छोराछोरी आफ्नै काममा व्यस्त छन् । त्यस्तोमा उनलाई एक्लोपनको महशुस हुँदो हो । त्यसैले क्वाटरमै खाली रहेको जग्गालाई करेसा बारी बनाएकी छिन् । बारीमा लसुन, प्याज र काउली रोपेकी छिन् । दिनभरि बारीमा गेडमेल गर्छिन् । कहिलेकसो साथीहरुको घरमा जान्छिन् । बाँकी समयमा नाती–नातिना संग खेल्ने र टिभी हेरेर समय बिताउने गर्छिन ।

त्यो बाहेक, बिहानको खाना उनी आफै बनाउछिन् । समयमै खाना खाएर महरा बैठकमा निस्किन्छन् । उनको भान्सामा दैनिक करिव १५/१६ जनाको लागि खाना पाक्छ । सुरक्षा टोली, सहयोगी तथा आगन्तुक सबैले एउटै भान्सामा खाने गर्छन् ।

कृष्ण बहादुर महरा मन्त्री भएपछि कैयौँ पटक विदेश भ्रमणका लागि विभिन्न देशमा गएका छन् । तर उनी श्रीमानसंग कहिल्यै बिदेश घुम्न गइनन् । एक पटक कान्छो छोरा राहुल भाषा सिक्ने भन्दै चिनमा ६ महिना बसेका थिए । त्यतिबेला उपचारका लागि भन्दै छोरासंग उनी चाइना गइन् ।
२०७२ मा महरा अर्थमन्त्री भएपछि अमेरिका घुम्न जाने कार्यक्रम थियो । तर उनी श्रीमानसंग अमेरिका जान मानिन् । श्रीमानसंग विदेश घुम्ने रहर किन भएन सिता भन्छिन्,–‘राज्यको पद दुरुपयोग हुन्छ भनेर उहाँले लैजान खोज्नु भएन, महराले श्रीमती लगेर गयो भनेर पार्टी तथा मन्त्रालयमा समेत आचलोति हुनु पर्छ भनेर उहाँले अमेरिका लैजानु भएन होला, मलाई पनि जानै मन लागेन ।’

त्यसो त, नेपालको राजनीति उनलाई खासै चित्त बुझेको छैन । पूर्व एमाले र माओवादीको एकता पछि बनेको पार्टी (नेकपा) ले जनताले सोँचे जस्तो काम गर्न नसकेको प्रति उनी चिन्ता व्यक्त गर्छिन् । भन्छिन्, ‘खासै विकास भए जस्तो पनि लाग्दैन, नेताहरुले जनचाहाना अनुसार काम गर्न नसकेर पनि होला जनताबाट आलोचित हुनु परेको छ ।’

नेपाली राजनीती सन्तोषजनक नभएको उनले बताइन् । तर, उनलाई मन पर्ने नेता ‘प्रचण्ड’ हुन् । प्रचण्डले नै राज्यसत्ता राम्रोसंग चलाउन सक्ने र विश्वास नेता भएको उनको ठम्याँई छ । प्रचण्डको नेतृत्वमा सुरु भएको जनयुद्धमा आफ्ना श्रीमानले गरेको योगदान अमुल्य रहेको उनी बताउँछिन् ।

०००
उनको महरासंग बिहे भएको पनि ३ दशक पुरा भइसकेको छ । यो अवधिमा उनले भोगाईका थुप्रै कुइनेटा पार गरिसकेकी छिन् । जीवनमा आइपरेका दुखलाई आँसुसंगै बगाइदिइन् । सुख सबैसंग साटिन् । महरा पत्नि सिता एउटा असल श्रीमती र असल आमा हुन् ।

श्रीमानलाई हरेक परिस्थितिमा साथ दिएकी उनले श्रीमान श्रीमतीबीचको सम्बन्धमा कहिल्यै दरार आउन दिइनन् । बिहे गरेको दिनदेखि अहिलेसम्म आफुहरुबीच झगडा नभएको कुरा सुनाउदैँ गर्दा सीताको मुहार प्रफुल्ल देखिन्छ । वास्तवमा यो कुराले उनलाई निकै आनन्द दिने गर्छ ।

त्यसो त, महरा आफै पनि शान्त स्वाभावका नेतामा गनिन्छन् । उनी सरल छन्, कम बोल्छन् । श्रीमानका सबै आनीबानी सीतालाई मन पर्छन । उनले आफ्नो श्रीमानलाई आदर्श श्रीमानको रुपमा बुझेकी छिन् ।

कहिले कसो मिडियामा महराको बारेमा नकरात्मक समचार आउदाँ उनलाई पत्यार लाग्दैन । ति समाचार भ्रम छर्नका लागि लेखिएका हुन भनेर उनी वास्ता गर्दिनन् । उनलाई थाहा छ, राजनीतिमा उतारचढाब भइरहन्छन् । राजनीति गर्ने मान्छेले हार मान्नु हुन्न भनेर उनले श्रीमानलाई सम्झाउने गर्छिन् ।

यतिबेला सीता आठ नाती नातिनीकी हजुरआमा बनिसकेकी छिन् । उनका जेठा छोरा निर्मलले दाङ्गमा कुखुरा फाराम खोलेका छन् । जेठी छोरी उन्नती पनि दाङ्गमै बस्छिन् । कान्छो छोरा राहुल बुवाकै सहयोगीका रुपमा काम गर्छन् । कान्छी छोरी अखिल नेपाल जनसांस्कसतिक महासंघमा अवद्ध छिन् । तर जनयुद्धको समयमा बच्चाहरुले पढ्न नपाएको प्रति भने सीता दुःखी छिन् । हरेक आमालाई आफ्नो सन्तानको चिन्ता हुन्छ । ठीक त्यस्तै सितालाई पनि आफ्ना सन्तान र देशको चिन्ता छ, भन्छिन्–‘छोरा छोरीले देश र जनताका लागि केही गरुन् ।’

#याे लेख दियाे पाेस्ट बाट साभार गरिएकाे हाे ।