पढ्नै पर्ने १० नेपाली पुस्तकहरू

काठमाडाैं असोज २०। २०७६  यो दशैं बिदामा तथा अघिपछि फुर्सदमा घरमा बसेर अध्ययन गरेर समय सदुपयोग गर्नेका लागि पढ्नै पर्ने १० नेपाली पुस्तकहरूः

‘योगमाया’ 

निलम कार्की ‘निहारिका’को ‘योगमाया’ पढ्नुपर्ने उपन्यास हो । उपन्यास लेख्दा मानिसहरु पहिले कोठामा बसेर पात्र सिर्जना गरेर लेख्थे । निलमले भने स्थलगत भिजिट गरेर, सजीव पात्रहरु भेटेर र ऐतिहासिक पृष्ठभूमि अध्ययन  गरेर लेख्नुभएको छ ।
अमेरिकादेखि नेपाल आएर भोजपुरदेखि विभिन्न ठाउँहरु स्थलगत अध्ययन गरेर निलमले यो पुस्तक लेख्नुभएको हो । योगमाया को हो ? प्रश्न आउन सक्छ । उनी एक सामाजिक योद्धा हुन् । जसले राणाकालमा हुने गरेको भेदभाव, ज्यादती लगायत विषयमा आवज उठाउने गरेकी थिइन् । यो पुस्तक पढ्दा योगमाया जान्न पाइन्छ । उनलाई जानेपछि जीवन बुझ्न पाइन्छ । जीवन बुझेपछि आफूलाई अगाडि बढाउन सजिलो हुन्छ ।

‘सिल्भर क्यासेज’

यो भर्खर बाहिर आएको पुस्तक हो । विसं २०२६ साल अगाडिका २० कथा यसमा समेटिएका छन् । ती २० भित्र विश्वेश्वरप्रसाद कोइराला, गुरुप्रसाद मैनाली, पुस्करशमशेर, गोविन्दमल्ल गोठाले, देवकुमारी थापा, माया ठकुरीका पनि पर्दछन् ।
अङ्गे्रजीमा समेत अनुवाद भएको यो पुस्तक अङ्गे्रजीमा अनुवाद भने समालोचक महेश पौडेलले गर्नुभएको हो । लन्डनमा विमोचन भएको यो पुस्तक अध्ययन गर्दा विसं २०२६ साल अगाडि नेपाली कथाको अवस्थाको जानकारी मिल्छ । यसले हाम्रो पुर्खा कुन अवस्थाबाट गुज्रिएका थिए भनेर पनि जान्न सकिन्छ । त्यो जानकारी भएपछि आफू बलियो भइन्छ भन्ने मेरो धारणा हो ।

‘मेरो मान्छे’ 

साहित्यकार कुन्ता शर्माको यो कविता सङ्ग्रह हो । अन्तर्राष्ट्रिय साहित्य समाजले अमेरिकामा एक कार्यक्रमसहित एक हजार अमेरिकी डलर राशिको ‘उत्कृृष्ट कविता सङ्ग्रह पुरस्कार २०१९’ केही समयपछि यो पुस्तकलाई दिँदैछ । लेखक शर्माको नाम नेपाली आन्दोलनको इतिहासमा पनि आउने गर्दछ । उहाँ आफै पनि सशक्त आन्दोलकर्ता हुनुहुन्थ्यो ।
कवितामार्फत समाजलाई सचेत गराउन थुप्रै सिर्जना बाहिर ल्याउनुभएका शर्माको ‘पोथी बास्नु हँुदैन’ जस्ता निकै मर्मिक र सशक्त कविता पनि बाहिर आएका थिए ।
‘मेरो मान्छे’भित्रको कविताले चेतनाको बिगुल फुकेको छ । एउटा मानिस कसरी बाँच्नुपर्छ । विद्रोह के हो । केका लागि विद्रोह, मानवीय व्यवहार र सामाजिक अवस्था सबैको ज्ञान यसबाट लिन सकिन्छ ।

‘रोबोटका आँखा’

लेखक नरेन्द्रराज पौडेलका थुप्रै कृति बाहिर आएका छन् । त्यीमध्ये ‘रोबोटका आँखा’ले सर्वाेत्कृष्ट पुस्तक पुरस्कार पाउन सफल छ । २ हजार अमेरिकी डलर राशिको यो पुरस्कार पाउने पुस्तक कमै छन् ।
पौडेलका कलम निबन्ध, नियात्रा र कविता लगायत सबै विधामा चलेको देख्न सकिन्छ । लामो समय नेपालको प्रशासनमा योगदान गर्नु भएका पौडेल धेरै क्षेत्र घुमेका व्यक्ति पनि हुनुहुन्छ । उहाँको जेजति अनुभव छन् ती सबै कथामार्फत बाहिर आएका छन् ।
नेपाली कथाको अवस्था, ट्रेन्ड लगायत विभिन्न पक्ष बुझ्न यो पुस्तक उपयुक्त हो भन्ने मेरो धारणा हो । अचेल दैनिक आधा दर्जन पुस्तक विमोचन हुन्छन् । तीमध्ये विश्व बजारमा जाने पुस्तक कमै हुन्छन् । यो पुस्तक त्यसमा पर्छ ।

‘यात्राको छहारी’

घनश्याम राजकर्णिकारको यो नियात्रा सङ्ग्रह हो । घनश्याम विश्व भ्रमणमा हिँडिरहने व्यक्ति हुन् । उहाँका ४० बढी किताब निस्किएका छन् । ती सबै नियात्रासँग सम्बन्धित छन् ।
केही समयअगाडि ५० हजार राशिको शङ्कर लामिछाने निबन्ध पुरस्कार प्राप्त गरेका घनश्यामको यो पुस्तकले पाठकलाई लेखकसँगै घुमाउने काम गर्छ । यो पुस्तक पढ्दा आफू त्यो ठाउँमा पुगेको र त्यहाँका दृश्य अवलोक गर्दै गर्दा जे अनुभूति मनमा हुनपर्ने हो सो गर्न पाइन्छ ।

‘डायस्पोरका कथाहरु’

नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा एनआरएन साहित्य उपसमितिले हालै बाँहिर ल्याएको पुस्तक हो ‘डायस्पोरका कथाहरु’ । अहिलेको समय देश बाहिर रहेका मानिसले के अनुभूति गरेका छन् । उनीहरुको भोगाइ कस्तो छ, जीवन कसरी चलाएका छन् र के सोच्छन् । सबै कुराको ज्ञान पुस्तकले दिन्छ । देश बाहिर रहेका नेपालीको बारेमा जानकारी लिन यो पुस्तक पढ्नुपर्छ । किताब धेरै ठूलो छ । यसमा धेरैले लेखका लेख समेटिएका छन् ।

‘रणहार’
‘रणहार’ मदन पुरस्कार प्राप्त पुस्तक हो । मल्लकालीन इतिहास समेटिएको यो पुस्तक योगेस राजले लेखेका हुन् । हामीले हाम्रो इतिहास, हाम्रो पुर्खाका, उनीहरुको योगदान पढेनौँ भने हामी केही गर्न सक्दैनौँ ।
इतिहासबाट सिकेर हामीले अगाडिको बाटो तय गर्ने हो । पछिल्लो समयका मानिसले अघिल्लो पुस्तालाई पढ्न, जान्न र बुझ्न छाडेका छन् । हामीले हाम्रो इतिहास पढेनौँ र जानेनौँ भने हामीले अगाडिको बाटो लामो तय गर्न सक्दैनौँ ।

‘न्याय’
‘न्याय’ पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको आत्मवृतान्त हो । मानिसले कहिलेकाहीँ सिङ्गो संस्थाभन्दा पनि बढी काम गरिरहेको हुन्छ । एक समय सुशीला कार्की प्रधान न्यायाधीश रहनुभयो । त्यो समय पनि उहाँ बुझ्नुपर्ने र पढ्नुपर्ने विषय थियो ।
विभिन्न कारणले प्रधान न्यायाधीशबाट हट्नुभयो । त्यसपछि पनि उहाँ धेरै अभियानमा सहभागी हुनुभयो । यो कारण पनि उहाँको चर्चा अहिले छ ।
उहाँले ल्याएको आत्मवृतान्त ‘न्याय’ पढ्न सकियो भने हामीलाई त्यसबाट प्रेरणा प्राप्त हुन्छ । कठिन समय उहाँले कसरी सहज पार गर्नुभयो जान्न सकिन्छ । यो जानेपछि जीवन अगाडि बढाउन सजिलो हुन्छ ।

‘पाठशाला’
पाठशाला उपन्यास हो । यसका लेखक तीर्थ गुरुङ हुन् । जुनै कथामा पनि एउटा घटना हुन्छ । उपन्यासमा त्यही घटनालाई जीवनको रूपमा विकास गरिन्छ । त्यहाँ केही पुस्तासमेत जोडिन सक्छ । उपन्यासमा हुनुपर्ने सबै आधारले भरिएर पाठशाल उपन्यास आएको छ । अन्तर्राष्ट्रिय साहित्य समाजले यो उपन्यासलाई पनि एक हजार डलरको पुरस्कार दिँदैछ । पाठशाला उपन्यासले पाठकलाई मनोरन्जन मात्र दिँदैन । धेरै कुरा सिकाउँछ । ज्ञान बाँढ्छ । यो पुस्तक नाम जस्तै मानिसका लागि पाठशाला रहेको मेरो बुझाइ हो ।

‘तनक्खा’
युवराज ‘नयाँ घरे’ले लेखेको यो पुस्तक भर्खर मात्र बजारमा आएको हो । हाम्रो नेपालीमा ‘तनक्खा’ले तलब बुझाउँछ । तर यो पुस्तक ‘तनक्खा’को अर्थ अर्कै छ । ‘तनक्खा’ बर्मामा पाइने एक प्रकारको चन्दनको काठ पनि हो । त्यहाँमा महिलाहरुले यसको लेप अनुहारमा लगाउँछन् । त्यही नामबाट यो पुस्तकको नाम राखिएको छ । पहिलो विश्वयुद्धदेखि नै बर्मामा नेपालीहरुको बसोबास भएको पाइन्छ ।

लेखकले यो पुस्तकमा बर्मामा रहेका नेपाली समाज, त्यहाँको रीतिरिवाज, भेषभूषा र त्यहाँ बसोबास गर्ने नेपालीहरुको बारेमा विस्तृत जानकारी समेटिएको छ । यो एउटा नियात्रा सङ्ग्रह हो । बर्मामा पनि ठूलो नेपालीभाषीको सङ्ख्या छ । यो पुस्तक पढ्दा त्यहाँका नेपालीको बारेमा सबै जानकारी मिल्छ । यो पुस्तकले पाठकलाई आफूसँगै बर्मा घुमाउन सफल छ ।

स्राेतः विभिन्न अनलाइन मिडियाहरूबाट साभारः

एक उत्तर छोड्नुहोस्

Please enter your comment!
Please enter your name here