उपनिवेश बन्नबाट जाेगाए

सन्दर्भ : पृथ्वीजयन्ती

भाषा, साहित्य र कलाको काम गर्ने प्रज्ञा प्रतिष्ठानले इतिहासमा विवादित मानिएका व्यक्तिको जन्म जयन्ती किन मनाउनुपरेको होला भन्ने जमात पनि छ । यसबारे के भन्नुहुन्छ ? 
दक्षिण भारततिर केही समुदायले रामको पूजा गर्दैनन्, उपेक्षा गर्छन् । सानो समूहले रावणको पूजा गर्छन् । अहिले नेपालमा थोरै समुदाय हुन सक्छन्, जसले रामलाई उपेक्षा र रावणलाई पूजा गर्ने गर्छन् । त्यस्तै पृथ्वीनारायण शाहको राष्ट्रिय एकता दिवस मान्ने बहुसंख्यक छन्, नेपालमा । अर्कोथरीले पृथ्वीनारायणले राज्य हडप्यो, हाम्रो भाषा मास्यो, हाम्रो संस्कृति मास्यो भन्ने छन् । त्यसैले पक्ष–विपक्ष जहाँ पनि हुन्छ ।

नेपाल कहिल्यै भारतजस्तो अंग्रेजको गुलाम भएन । भारतमा पहिले मुुसलमानले राज्य गरे । त्यसपछि अंग्रेजले राज्य गरे । अंग्रेजविरुद्ध विद्रोह गरेर महात्मा गान्धीहरूले अंग्रेजलाई लखेटे । भारत स्वतन्त्र भयो । तर, नेपाल कसैको उपनिवेश हुनुपरेन । नेपाल उपनिवेश बन्न नदिएको पृथ्वीनारायण शाहले हो । पहाडतिर ‘बोकाले दाइँ हुने भए गोरु किन चाहियो’ भन्ने उखान छ । तर, गोरु घुमाउन पनि त मियो त चाहियो । त्यस्तै पृथ्वीनारायण शाहले मियोको काम गरे । अरू सबै गरेको त जनता एक–आपसमा मिलेर हो ।

पृथ्वीनारायणभन्दा पहिले नै नेपालको राष्ट्रियताको प्रारूप तयार भइसकेको थियो । राष्ट्रियता भनेको मन मिल्नु, भावना मिल्नु हो । राज्य भनेको भूमि हो । संसारमा नेपाली जहाँ–जहाँ छन् नेपाली राष्ट्रियता छ । नेपाली राष्ट्रियता अहिले धमिलिएको छ । यसलाई कसरी राम्रो गर्ने भन्ने सोचले कार्यक्रम गरिएको हो । अहिले सरकारले पनि पृथ्वी जयन्ती मनाउने दायित्व प्रज्ञा प्रतिष्ठानलाई दिएको छ । सहकार्यका लागि संस्थाहरूलाई गुहारेका हौँ ।

पृथ्वीनारायण शाहले बसाएको सांस्कृतिक जग के थियो ? 
एउटा उदाहरण हेरौँ । चीनलाई अहिलेको अवस्थामा महान् नेता माओत्सेतुङले ल्याएका हुन् । तर, अहिले उनको पालाको नीति चीनमा छैन । उनले सांस्कृतिक क्रान्ति गरे । आफ्नो अभियानमा बाधा पुर्‍याउने कुनै संस्कार, संस्कृति, रीतिथिति र परम्परा छ भने त्यसलाई परित्याग गर्ने कुरालाई उनले सांस्कृतिक क्रान्ति भने । उनको पहिलो ध्यान अर्थनीतिमै केन्द्रित थियो । व्यक्तिगत सम्पत्ति भन्ने नै थिएन ।

कम्युनमा गएर बस्थे । राज्यले खुवाउँथ्यो । आफ्नो सम्पत्ति एक रुपैयाँ थिएन । कम्युनमा बसेकाले कम्युनिस्ट भए । अहिलेका कम्युनिस्ट कम्युनमा बसेका छन् र ? त्यो नीति काम नलाग्ने ठानेर उनकै पालामा उनैले नौलो जनवादी अर्थनीति ल्याए । त्यसले विदेशीलाई चीनमा आएर लगानी गर्न बाधा पुग्यो । उद्योगधन्दा खोल्न दिएनन् । आफ्नो देशको धन लगेर विदेशमा लगानी नगर्ने, विदेशको नगदचाहिँ आफूले आयआर्जन गर्ने नीति उनले ल्याए ।

माओभन्दा अघिका हुन्, पृथ्वीनारायण शाह । पृथ्वीनारायण शाहको आर्थिक क्रान्तिको कुरा गर्दा लडाइँमा क्षेत्री, बाहुन, ठकुरी, मगर, गुरुङ सबै थिए । बाहुन, क्षेत्रीले भात खाँदा धोती मात्र लगाएर भात खाने गर्थे । लडाइँको अवस्थामा निद्रा र भोकका कारण गोर्खाली सेनाले एकठाउँमा भात पकाएर खान थालेका रहेछन् । त्यो कुरा जयप्रकाश मल्लका सेनाले थाहा पाए ।

पृथ्वीनारायणले अंग्रेजलाई नछेकेको भए उसले भारत त खायो खायो, तिब्बत, चीनदेखि रुससम्मै खाइदिन्थ्यो । मुख्य तगारो भएर नेपालले अंग्रेजलाई छेक्यो । पृथ्वीनारायणकै कारण भूराजनीति खलबलिन पाएन ।

गोरखालीहरू धोती मात्रै लगाएर भात खान्छन् भन्ने थाहा पाएपछि जयप्रकाशका सेनाले आक्रमण गरिदिए । भातको कसौँडी, थाल र खुँडा कता गयो कता, भागाभाग भयो । त्यो वेलामा पृथ्वीनारायण शाहले सेनामा जागिर खाएका बाहुन क्षेत्रीले लुगा नफेरीकन भात खान हुन्छ, जात जाँदैन भने । त्यो ठूलो सामाजिक, सांस्कृतिक क्रान्ति थियो । ‘सेनामा जागिर खाएका बाहुन, क्षेत्री, ठकुरी, गुरुङ, मगरले सँगै बसेर खाना खाए हुन्छ’ भने । त्यसवेला खाजा भनेको भुटेको मकै, भटमास थियो । आलुको झोल बनायो भने त्यो तिउन भयो । पोलेर खायो, घिउमा तारेको छ भने त्यो बिटुलो हुँदैन भने । यसरी पृथ्वीनारायणले सांस्कृतिक क्रान्ति गरे ।

काठमाडौं जितेपछि कुमारी मानियो । कुमारी उपाध्याय बाहुनको छोरी त होइन । रक्सी खाने, जाँड खाने, राँगाको मासु खानेलाई कुमारी बनाइएको छ । कुमारीलाई हिन्दू धर्मावलम्बी, आर्य संस्कृतिका अनुयायी, जनै लाउने जात ठकुरीले जनै नलगाउने जातको छोरी ‘कुमारी’को खुट्टामा ढोगिदिए । जातीय इगो मत्थर गरे पृथ्वीनारायणले । यस्तो खालको सांस्कृतिक क्रान्ति गरे ।

कुनै ठाउँमा खानी छ भने त्यो गाउँलाई अन्तै सारेर खानी सञ्चालन गरे । देशी लुगा नलगाउने, आफ्नै देशको कपडा बुन्न जान्नेलाई नमुना देखाएर कपडा बुन्न लगाए । घरेलु उत्पादन लगाउने, विदेशीको नाच नहेर्ने, जडीबुटी बाहिर पठाउने र नगद आर्जन गर्ने नीति पृथ्वीनारायणले ल्याए । त्यो वेलाको पृथ्वीनारायण शाहको सिको माओत्सेतुङले गरेका हुन् ।

महात्मा गान्धीहरूले ‘अंग्रेज छोड’ भनेर आन्दोलन गर्नुपूर्व तैँले छोड्नैपर्छ भनेर इसाई पादरीहरूलाई पृथ्वीनारायण शाहले खेदिसकेका थिए । उनले पादरीहरूलाई खेदेको २५० वर्षपछि भारतले त्यही सिको गर्‍यो । कल्चरल पोलिसी बनाउने, सोसियल अर्गनाइजेसनको पोलिसी बनाउने, इकोनोमीको पोलिसी बनाउने त पृथ्वीनारायण शाह नै हुन् । पृथ्वीनारायणले अंग्रेजलाई नछेकेको भए भारत त खायो खायो, तिब्बत, चीनदेखि रुससम्मै खाइदिन्थ्यो ।  मुख्य तगारो भएर नेपालले छेक्यो । उनकै कारण भूराजनीति खलबलिन पाएन ।

त्यो भाषिक, सांस्कृतिक जग अहिले कमजोर छ कि शक्तिशाली ?
जग कमजोर छैन । उनले गरेजस्तो काम अहिले गर्न सकेको छैन । उनी विद्वान्हरूको कदर गर्थे । अहिले नेपालका विद्वान्हरूको कदर छैन । उनका भारदारहरू पनि बडो अनुयायी र कर्तव्यनिष्ठ थिए । धोकेबाज थिएनन् । त्यतिखेर राष्ट्र निर्माणका लागि चेतनशील विद्वान्हरू थिए । उनले विद्वान्हरूलाई हरेस खान दिँदैनथे । उदाहरणका लागि गोरखा गरिब, मकवानपुर धनी थियो ।

मकवानपुरको मुगलानसँग सम्बन्ध र मीठोमसिनो खाने, राम्रो लाउने । गोरखाली त खस्रोमस्रो लाउने, खाने । जन्ती जाँदा ‘मलाई सलाम गर्दा जुत्ता खोलेर गर्नू, तर त्यो गोर्खेलाई चाहिँ जुत्तै लाएर गर्नू’ भनेर जेठानले सिपाहीलाई सिकाए । त्यसरी अनादर गरेपछि पृथ्वीनारायण शाहले आफ्ना जेठानका सेनालाई चटाचट काटिदिए ससुरालीमै । त्यहाँबाट भागेर चन्द्रागिरिको डाँडामा आएर नेपाल कुन हो भनेर सोधे । उनका साथमा दुई विद्वान् भानु अर्याल र कुलानन्द ढकाल थिए । उनीहरूले यो काठमाडौं, यो पाटन र यो भक्तपुर भनेर देखाए ।

राजाले ती राज्यतिर हेरे, तर बाहुनले राजाको मुखमा हेरे । दुईजना बाहुनले महाराजको मनोकांक्षा सिद्ध हुन्छ भनेपछि ‘मेरो मनको इच्छा कसरी थाहा पायौ’ भनेर सोधे । ती विद्वान्ले नेपालमाथि नजर पर्दा जुँगामा बाहुली बक्सेका हुनाले नेपालको राजा हुन पाए हुन्थो भन्ने छ भनेर मनोवैज्ञानिक उपचार गरे पृथ्वीनारायणको । त्यसैले पनि विद्वान्को कदर हुन्थ्यो । नुवाकोट जितेपछि सपनामा पनि लडाइँ गर्ने उनले एकदिन ठूलो पोखरी स्वात्तै खाएको देखे ।

त्यो सपना रामकृष्ण शर्मा गुरुपुरोहितलाई सुनाए । ‘महाराज यो पानी खाएको त बाथसम्बन्धी रोग हुन्छ, स्वस्ती शान्ति गर्नुपर्छ’ भनेर लाइदिए । शक्तिबल्लभ अर्याल बाहुन भएर पनि खुँडा भिरेर लडाइँको फ्रन्टमा थिए, कीर्तिपुरमा । उनले शक्तिबल्लभलाई फेरि सपना सुनाए । ‘ठोकिबक्स्योस् महाराज, महाराजको मनोकांक्षा पूरा हुन्छ’ भन्दिए । तीन पोखरी भनेको काठमाडौं, भक्तपुर र पाटन थियो । ज्ञानको कदर गरेर उनलाई नै गुरु बनाए । अहिले त गणतन्त्र आयो, धर्मनिरपेक्ष भन्छन्, तर जसले चाकडी गर्‍यो, उसैलाई हेर्ने प्रथा छ । पृथ्वीनारायणले योग्य मान्छेलाई योग्य स्थानमा राखेका थिए । अहिलेका नेताहरूसँग ‘हु इज हु’ भन्ने प्रोफाइल नै छैन । उनीसँग प्रोफाइल थियो । पहिला होमवर्क, नेटवर्क र फिल्डवर्क हुनुपर्छ । एक्कासि फिल्डमा जाने शासक असफल हुन्छन् । उनी निक्कै सफल थिए । त्यसैले उनको कदरस्वरूप पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाइन्छ ।

पृथ्वीनारायणले असली हिन्दुस्तान बनाउने भन्दै अन्य जातिको संस्कृतिलाई ध्वस्त पारे भन्ने आरोप पनि छ नि ?
हिन्दुत्व भनेको जातभात मान्ने, छुवाछुत गर्ने, निधारभरि टीका टाँसेर हिँड्नु होइन । वैदिक ऋचामा भनिएको छ, ‘सम्पूर्ण चराचर जगत्लाई म मित्रताको दृष्टिकोणले हेर्छु, मलाई पनि मित्रताको दृष्टिकोणले हेरियोस्’ हो, हिन्दुत्व भनेको त्यो हो । यहाँ सद्भावकै कुरा छ । हाम्रो जात मास्यो भन्छन्, नेवारहरू । रानीपोखरीको त्यो हबिगत छ । त्यहाँको अभिलेख प्रताप मल्लले बनाए । त्यो अभिलेख नेपाली भाषामा लेखिएको छ, नेवार भाषामा होइन । लक्ष्मीनरसिंह मल्लकै समयमा नेपाली भाषाले राजकाजको भाषाका रूपमा मल्ल दरबारमा मान्यता पाइसकेको थियो । र, खस मगरहरू भारदार भएर बसिसकेका थिए । त्यो फ्लोलाई कसैले रोक्नै सकेन । दश राईको दश भाषा भनिन्थ्यो, अहिले त राईको पच्चीस भाषा छ रे ।

घरेलु उत्पादन लगाउने, विदेशीको नाच नहेर्ने, जडीबुटी बाहिर पठाउने र नगद आर्जन गर्ने नीति पृथ्वीनारायणले ल्याए । त्यो वेलाको पृथ्वीनारायण शाहको सिको माओत्सेतुङले गरेका हुन् ।

एउटा राईको भाषा अर्को राईले बुझ्दैन, राई भाषा लिम्बूले बुझ्दैन, मगर भाषा गुरुङले बुझ्दैन । कसैको भाषा कसैले बुझ्दैन । अहिले त अंग्रेजी विश्व भाषा भएको छ । ‘अंग्रेजी नजानेको लाटो हुन्छ रे, अपाङ्ग हुन्छ रे’ भन्छन् । अहिले अंग्रेजी विश्वको माध्यम भाषा बन्यो । त्यस्तै नेपालको माध्यम भाषा नेपाली भाषा भयो । पृथ्वीनारायणले जनकपुर जिते, त्यहाँको महन्त सुमेरन दासलाई त्यहीँ पूजा गरेर खान दिए । उनको हकअधिकार त खोसिएन ! गोरखाबाट जनकपुरमा पहाडी बाहुन त लगेनन् । धरानमा एउटा दन्तकालीको मन्दिरको पुजारीलाई पनि पूजा गरेर खानू भनिदिए । काठमाडौंमै कति मठ मन्दिरहरू छन्, सबै गोरखाका बाहुन ल्याएर भरेको भए हुन्थ्यो नि, पृथ्वीनारायण शाहले त्यसो गरेनन् । अघिदेखि पूजा गर्दै आएका राजउपाध्यायहरू छन्, कर्माचार्यहरू छन्, बज्रचार्यहरू छन् । उनीहरूको थिति त यथावत् नै छ नि । नेपालको अस्तित्व जोगाउन मात्रै पृथ्वीनारायणले राज्यसत्ता हातमा लिएका हुन् । संस्कृति ध्वस्त पारिएको आरोप सत्य छैन ।
तर, पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेका होइनन् गोरखा राज्य विस्तार गरेका हुन् भन्नेहरू पनि छन् नि ?
सबैभन्दा पहिला राज्य विस्तार भनेको के हो र एकीकरण भनेको के हो भन्ने बुझ्न आवश्यक छ । एउटा स्वतन्त्र राज्यले अर्को स्वतन्त्र राज्यलाई हडपेर त्यसको अस्तित्व आफूमा मिलायो भने त्यो राज्य विस्तार हुन्छ । त्यो राज्य विस्तार चारै दिशामा गरियो भने त्यो विजय हुन्छ । तर, कुनै राज्य प्राचीनकालमा विशाल थियो, विभिन्न कारणले अनेक टुक्रामा विभाजित भयो, स्वतन्त्र राज्यका रूपमा विकसित भयो, त्यस्ता राज्यहरूमध्ये कुनै एउटा राज्यले अरू सबैलाई जितेर त्यसलाई एक डल्लो बनायो भने त्यो एकीकरण हुन्छ भन्ने सिद्धान्त छ । त्यो सिद्धान्त त पढ्नु पनि पर्‍यो नि ।

नेपाल त विशाल थियो, अहिले बरु खुम्चिएको छ । भारतको इलाहवादमा इस्वी पाँचौँ शताब्दीका गुप्तसम्राट् समुद्रगुप्तको एउटा अभिलेख छ । त्यसमा आफ्नो उत्तरतिरको सीमावर्ती राज्यहरूको गणना गरिएको छ । आसाम, गडवाल, कुमाउ र बीचको भूमि नेपाल हो भनिएको छ । कुनै वेला हाम्रो सिमाना पूर्वमा टिस्टा, पश्चिममा काँगडा पुगेको थियो । तर, अहिले मेची, महाकालीसम्म नेपाल सीमित भयो । पृथ्वीनारायण शाहको पालामा यो ५४ टुक्रामा विभाजित थियो, त्यसमध्येको एक टुक्रा गोरखा हो । गोरखाले सबैलाई मिलायो । त्यसैले यो एकीकरण नै हो ।

प्रसंग बदलौँ, प्रतिष्ठानबाट पृथ्वी प्रज्ञा पुरस्कारको नाममा ठूलो राशिको पुरस्कार वितरण गरिँदै आएको छ । यसरी पुरस्कृत गरेर प्राज्ञिक व्यक्तित्वलाई सत्ताको वरिपरि ल्याउन खोजिएको हो ? 
आफूले पाउन नसक्नेहरू यो पुरस्कारप्रति रुष्ट देखिए । यो पुरस्कारको राशि चार लाख अझै सानो हो । आन्दोलनको नाममा पृथ्वीनारायण शाहको सालिकको टाउको फोरियो । पृथ्वीनारायण शाहको पृ होइन प पनि उच्चारण गर्न सकेनन्, चाहेनन् । ‘देवासुर संग्राम’, ‘नारी बन्दन’ र ‘मुक्ति’ लेख्ने मोेदनाथ प्रश्रित के राजावादी हुन् ? उनी त खुंखार कम्युनिस्ट हुन् । तीन वर्षसम्म लगातार फूलको गुच्छा लिएर सिंहदरबारअगाडि पृथ्वीको सालिकमा चढाएर अभिवादन गर्ने व्यक्ति तिनै प्रश्रित हुन् ।

विज्ञताको कदर गर्दै गणतन्त्र आएपछिको पहिलो पुरस्कार मोदनाथलाई दिइएको हो, त्यो अन्यथा होइन । त्यसपछिको पुरस्कार ताना शर्मालाई दिइयो । ताना शर्मा कुनै वेलाका नेपाली भाषा र साहित्यको महारथी हुन् । अहिले उनी अस्वस्थ्य छन् । सरकारले पालेको छैन, बाँच्न परेन ? उनलाई त्यो पुरस्कारले बाँच्न पनि सहयोग भयो । योपटक सत्यमोहनलाई दिइयो । सरकारले वाङ्मय शताब्दी पुरुष भनेर पगरी मात्र लाइदिने कि त्योअनुसार भत्ता पनि दिने ?

प्रज्ञा प्रतिष्ठानको आजीवन सदस्यको तीस–पैँतीस हजार भत्ता पाएर उनको निर्वाह हुन्छ ? नाम भने रणशेर खान भने आधा शेर ! इज्जतअनुसारको खाना चाहियो । सत्यमोहनको योगदान पञ्चायतकालमा मात्र देख्नेहरूका लागि म भन्छु बैँसमा एक मुरी धान बोकेर गाउँबेँसी गर्नेले बुढो भएपछि पाँच पाथी पनि बोक्न सक्दैन । के अब उनले हिजो गरेको कामको कदर नगर्ने ?

नेपाली भाषा र साहित्यको उत्पत्ति भएको थलो जुम्लाको सिँजामा ०२८ सालमा उनको नेतृत्वमा काम भयो । त्यस्तो काम अहिलेसम्म प्रज्ञाले गर्न सकेको छैन । प्राज्ञिक व्यक्तिहरूको काम राष्ट्रलाई आपत् परेका वेलामा राष्ट्रको आवश्यकता परिपूर्ति गर्नु हो । त्यो काम गरेका छन् सत्यमोहनले । यो प्रज्ञा पुरस्कार त्यस्ता प्राज्ञिक व्यक्तिलाई नदिएर राजनीतिज्ञलाई दिने कुरा हो त ? नेपाल प्रज्ञा प्रतिष्ठानले पृथ्वी प्रज्ञा पुरस्कार दिएको रिस गर्नेले जानुन् जिउँदै अवस्थामा उनको नाममा किन राष्ट्र बैंकले मुद्रा छपायो ? योगदानको कदर गरेको हो यो पुरस्कार दिएर । मैले पाउँला भनेर मुख आँ–आँ गरेर बसेका थिए होलान्, नपाएपछि विरोध गरे ।
अहिले संस्कृति मन्त्रालय र गृह मन्त्रालयमार्फत यो जयन्ती मनाउन प्रज्ञालाई जिम्मा दिएको छ । जिम्मा दिनेभन्दा पनि सोझै गृहले र संस्कृति मन्त्रालयले यो जयन्ती मनाउनुपर्छ । स्राेत :नयाँ पत्रिका 

एक उत्तर छोड्नुहोस्

Please enter your comment!
Please enter your name here