धराप कि विद्यालय ?

बस्नै नमिल्ने भन्दै पाँच वर्षअघि सरकारले रातो स्टिकर टाँसेका विद्यालयमा अहिले पनि जोखिम मोल्दै पढ्न विवश छन् बालबालिका

दुई आनामा अरुणोदय मावि ढोका खोल्दा सीधै सडकमा

काठमाडौंको ढोकाबहालस्थित अरुणोदय आधारभूत विद्यालय करिब साढे दुई आना जग्गामा बनेको छ । तीन मिटर चौडाइ र २६ मिटर लम्बाइ रहेको विद्यालय भवन दुवैतिरबाट सडकसँग सटिएको छ । कक्षाकोठाको ढोका खोल्नेबित्तिकै विद्यार्थी हुत्तिएर सडकमै आइपुग्छन् ।यो  खबर आजको नयाँ पत्रिकामा छापिएको छ।०७२ को भूकम्पले चर्काएपछि विद्यालय भवनमा अति जोखिमपूर्ण भन्दै रातो स्टिकर टाँसिएको थियो । तर, धराप बनेको यही भवनमा अहिलेसम्म पढाइ भइरहेको छ । ज्यान जोखिममा पारेर सय विद्यार्थी पढिरहेका छन् । प्राविधिक भन्छन्, ‘पुरानो भवन भत्काएर मापदण्डअनुसार नयाँ बनाउने हो भने राम्रो शौचालय पनि बन्दैन ।’

तीन आनामा निर्मल विद्यापीठ : जीर्ण भवनमा बालबालिका

खिचापोखरीस्थित निर्मल विद्यापीठ आधारभूत विद्यालयको भवन जीर्ण छ । भूकम्पले क्षति पुर्‍याए पनि अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन । जम्मा क्षेत्रफल तीन आनाको छ, त्यो पनि गुठीको नाममा । दुईतले भवनको माथिल्लो तलामा एउटै हल छ । जहाँ कक्षाकोठाको अभावमा दुई सिफ्टमा पढाइ हुन्छ । तर, भुइँतलाका कोठा भने पसललाई भाडामा दिइएको छ । पुनर्निर्माण गर्न मापदण्ड नै पुग्दैन, जोखिम मोलेरै अभिभावकले आफ्ना छोराछोरी स्कुल पठाइरहेका छन् ।

६ मिटर चौडाइ र २० मिटर लम्बाइमा कन्या मावि पुनर्निर्माण भएन, डरले विद्यार्थी घटे

हनुमानढोकाछेउको याटखामा ९८ वर्षदेखि सञ्चालित कन्या माध्यमिक विद्यालय साढे तीन आनामा मात्रै बनेको छ । ६ मिटर चौडाइ र २० मिटर लम्बाइको चारतले विद्यालय साँघुरो मात्रै छैन, खतरनाक पनि छ । ०७२ को भूकम्पले क्षतिग्रस्त यो भवन बस्न लायक नभएको भन्दै रातो स्टिकर लगाइएको थियो । तर, पुनर्निर्माण हुन नसकेपछि यही विद्यालयमा जोखिम मोल्दै सय विद्यार्थी पढ्छन् । काठको भर्‍याङ चढेर विद्यार्थीले चारतलासम्म पुग्नुपर्छ । त्यति मात्र होइन, विद्यालयमा एउटा मोटरसाइकल पार्किङ गर्नसमेत आँगन छैन । दुवैतिरका ढोका सडकसँगै जोडिएकाले हरेक पल दुर्घटनाको जोखिम उत्तिकै छ । ‘रेड स्टिकर टाँसेको भवनमा जोखिम मोलेर पढाउनुपरेको छ, भवनमा एकपटक तलमाथि गर्ने जोकोहीको सातो जान्छ, डराएरै विद्यार्थी घट्दा अहिले सयमा सीमित छ,’ प्रधानाध्यापक गोपीचन्द्र पौडेलले भने, ‘विद्यालयले कुनै कार्यक्रम गर्नुपरे टुँडिखेल जानुपर्ने अवस्था छ ।’

पाँच आनामा हिमालय मावि कक्षाकोठामा भित्रबाट टेको, २४० विद्यार्थी जोखिममा

न्युरोडस्थित हिमालय माविको पाँचतले भवनमा भूकम्पले बस्न नमिल्ने गरी क्षति पुर्‍यायो । पाँच आनामा बनेको यो भवनमा प्राविधिकले रातो स्टिकर टाँसे । साँघुरो भवनको भुइँतलाका दुई सटर भाडामा लगाइएको छ । माथिल्लो तलामा रहेका कक्षाकोठामा भित्रबाट टेको लगाएर जेनतेन थेगिएको छ । यस्तो धरापमा दुई सय ४० विद्यार्थीको पढाइ जारी छ । जग्गा कम भएकाले विद्यालयको पुनर्निर्माण सम्भव छैन ।

जीर्ण अवस्थाका दशकौँ पुराना सामुदायिक विद्यालय

जीर्ण अवस्थामा पुगेका दशकौँ पुराना सामुदायिक विद्यालयका भवन १२ वैशाख ०७२ को भूकम्पमा बस्नै नमिल्ने गरी खलबलिए । काठमाडौं, भक्तपुर र ललितपुरका पुराना सहरी क्षेत्रका अधिकांश त्यस्ता विद्यालय भवन गर्ल्याम्मै नढले पनि जुनकुनै वेला ढल्ने अवस्थामा पुगे । प्राविधिकहरूले त्यस्ता भवनमा अध्ययन–अध्यापन गर्न नमिल्ने भन्दै रातो स्टिकर लगाए । भवन जुनसुकै वेला भत्किन सक्ने खतराको सूचक थियो– रातो स्टिकर । तर, विद्यालय भवन न पुनर्निर्माण भए, न पठनपाठन रोकियो । धराप बनेका उपत्यकाका यस्ता दर्जनौँ विद्यालय भवनमा अहिले पनि सयौँ बालबालिकाको जीवन जोखिममा पारेर अध्यापन गराइँदै छ ।

काठमाडौंको ढोकाबहालस्थित अरुणोदय आधारभूत विद्यालय, हनुमानढोकानजिकै याटखास्थित कन्या मावि, न्युरोडस्थित हिमालय माविलगायत विद्यालयका भवनमा भूकम्पले क्षति गरेपछि रातो स्टिकर लगाइएको थियो । यी भवन जुनसुकै वेला भत्किने अवस्थामा छन् । मापदण्डअनुसार नयाँ भवन बनाउन आवश्यक जग्गा पनि छैन । कन्या मावि साढे तीन आनामा छ । भवन रहेकोबाहेक एक इन्च पनि थप जमिन नभएकाले नयाँ भवन बनाउन मापदण्ड पुग्दैन । साढे दुई आनामा रहेको अरुणोदय आधारभूत विद्यालय, पाँच आनामा रहेको हिमालय मावि र तीन आनामा रहेको खिचापोखरीस्थित निर्मल विद्यापीठ आधारभूत विद्यालयको हालत पनि उस्तै छ । प्राविधिकहरू नै भन्छन्, ‘अरुणोदयको पुरानो भवन भत्काएर मापदण्डअनुसार नयाँ बनाउने हो भने राम्रो शौचालय पनि बन्दैन ।’

शिक्षा नियमावलीअनुसार हरेक विद्यालयमा कम्तीमा सबै विद्यार्थी एकैपटक उभिन सक्ने कम्पाउन्ड हुनुपर्छ । तर, यी विद्यालयमा कम्पाउन्ड त परको कुरा, उज्यालोसमेत नछिर्ने कक्षाकोठा छन्, बालबालिकाका लागि यातनागृहजस्ता । जमिन अभावका कारण कतिपय विद्यालयका कक्षाकोठा मूलसडकसँगै सटिएका छन् । कोठाबाट निस्किनेबित्तिकै विद्यार्थी हुत्तिएर सीधै सडकमा पुग्छन् । जुनसुकै वेला पनि दुर्घटनाको जोखिम छ । ‘रेड स्टिकर टाँसेको भवनमा जोखिम मोलेर पढाउनुपरेको छ, भवनमा एकपटक तलमाथि गर्ने जोकोहीको सातो जान्छ, डराएरै विद्यार्थी घट्दा अहिले सयमा सीमित छ,’ न्युरोडस्थित कन्या माविका प्रधानाध्यापक गोपीचन्द्र पौडेलले भने, ‘विद्यालयले कुनै कार्यक्रम गर्नुपरे टुँडिखेल जानुपर्ने अवस्था छ ।’

शिक्षा नियमावलीअनुसार कक्षाकोठा सामान्यतया नौ फिट उचाइका घाम तथा पानीबाट जोगिने हुनुपर्छ । पूर्वप्राथमिक र प्राथमिक विद्यालयको कक्षा प्रतिविद्यार्थी ०.७५ वर्गमिटर र माध्यमिक विद्यालयको १ वर्गमिटरभन्दा कमको हुनुहुँदैन । कक्षाकोठामा हावा र प्रकाशको प्रवाह स्वस्थ हुनुपर्ने पनि नियमावलीले स्पष्ट पारेको छ ।

काठमाडौंमा रातो स्टिकर टाँसिए पनि पढाइ भइरहेका तर जग्गा अभावले पुनर्निर्माणमा नपरेका १५ विद्यालय 

काठमाडौंमा रातो स्टिकर टाँसिए पनि पढाइ भइरहेका तर जग्गा अभावले पुनर्निर्माणमा नपरेका १५ विद्यालय काठमाडौंमा रातो स्टिकर टाँसिए पनि अध्ययन अध्यापन चलिरहेका तर जग्गा अभावले पुनर्निर्माण नहुने भएका १५ विद्यालय छन् । जग्गा अभावका कारण यी विद्यालयको पुनर्निर्माण गर्न मापदण्ड नपुगेको हो । 

भूकम्पले भत्काएका विद्यालयहरू राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा)ले पुनर्निर्माण गरिरहेको छ । आयोजनाअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाइसमेत गठन भएका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाइ काठमाडौंका इन्जिनियर सागर पौडेलले विद्यार्थी संख्या भए पनि काठमाडौंका १५ विद्यालय भवन पुनर्निर्माण गर्न नसकिने बताए ।

‘काठमाडौंमा एकदमै क्रिटिकल अवस्थामा विद्यालय सञ्चालन भएका छन्, रेड स्टिकर लगाएका विद्यालय भवनमा समेत विद्यार्थी पढिरहेका छन्,’ इन्जिनियर पौडेलले भने, ‘तर ती विद्यालय भत्काएर पुनर्निर्माण गर्ने अवस्था छैन, तीन आनामा कस्तो विद्यालय बन्ला ?’

मापदण्ड पूरा गर्दा पुनर्निर्माण गर्न सक्ने अवस्था नरहेको उनले बताए । कान्ति ईश्वरी माविको जग्गा २२ आना भए पनि पर्तीजग्गा भएको र त्यहाँ पार्क बनाउने भनिएकाले पुनर्निर्माण गर्न नसकिएको उनले बताए । अहिले विद्यालय तहको अधिकार स्थानीय तहलाई भएकाले उसैले पहल गर्नुपर्ने इन्जिनियर पौडेलले बताए । यस्तो समस्या काठमाडौं महानगरपालिकाभित्र धेरै छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भने विद्यार्थी कम भएका र जोखिमपूर्ण अवस्थामा पढाइ भइरहेका विद्यालयलाई अबको शैक्षिक सत्रमा व्यवस्थापन गर्ने बताए । ‘विद्यार्थी कम भएका र बनाउन पनि नसक्ने विद्यालयलाई अब मर्ज गरेर राम्रो पूर्वाधार बनाउँछौँ,’ उनले भने, ‘भित्री सहरका विद्यालयका बालबालिका बाहिर निस्किनेबित्तिकै सडकमा आउने अवस्था छ, अब बालबालिका खेल्न मिल्ने बनाउँछौँ ।’ मर्ज गर्ने वा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा महानगरको शिक्षा शाखाले अध्ययन गरिरहेको पनि शाक्यले बताए ।

ललितपुरमा रातो स्टिकर टाँसेका १२ विद्यालयमा निरन्तर पढाइ, जग्गा र विद्यार्थी अभावलगायत कारण २३ विद्यालय पुनर्निर्माण नहुने 

ललितपुरमा एक सय ८६ मध्ये २३ विद्यालय पुनर्निर्माण नहुने भएका छन् । मध्ये १२ वटामा रातो स्टिकर टाँसिए पनि पढाइ भने चलिरहेको छ । ८ विद्यालय जग्गा नभएका कारण पुनर्निर्माणमा नपरेको जिल्ला आयोजना कार्यान्वयन इकाइ, ललितपुरले जनाएको छ । यीमध्ये दुई विद्यालयमा विद्यार्थी पनि कम छन् । यस्तै, अन्य १४ विद्यालय विद्यार्थी संख्या कम भएकै कारण पुनर्निर्माण नहुने भएका छन् । एउटा विद्यालयमा भने सडक पार गर्न समस्या भएका कारण पुनर्निर्माण कार्यक्रममा समेटिएको छैन ।
जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) ललितपुरका इन्जिनियर इन्द्र महर्जनले २३ विद्यालयका सबै भवनमा रातो स्टिकर लागेको नभए पनि सुरक्षित नरहेको बताए । ‘जग्गा कम भएका र विद्यार्थी कम हुँदा पुनर्निर्माण गर्न नसकिने विद्यालय भूकम्पीय दृष्टिले सुरक्षित छैनन्,’ इन्जिनियर महर्जनले भने ।

भक्तपुररमा ८० विद्यालय बन्न नसक्ने, रातो स्टिकर टाँसेका ४० विद्यालयमा जोखिम मोलेर पढाइ 
भक्तपुरमा ८० विद्यालय बन्न नसक्ने अवस्थामा छन् । कुनै थोरै जग्गा र कुनै विद्यार्थी कम भएका कारण विद्यालय पुनर्निर्माण हुने अवस्था नरहेको जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) भक्तपुरका इन्जिनियर अजयकुमार साहले बताए ।

‘कतै दुई/तीन आनामा विद्यालय चलेका छन्, मापदण्डअनुसार पुनर्निर्माण गर्न सकिँदैन,’ उनले भने, ‘पुनर्निर्माण हुन नसक्दा रातो स्टिकर लागेका ४० विद्यालयमा जोखिम मोलेर पढाइ भइरहेको छ ।’ उनले भक्तपुर नगरपालिकामा विद्यालय पुनर्निर्माणमा समस्या भएको बताए ।

विद्यालय पुनर्निर्माण प्राधिकरण काठमाडौं इकाइका इन्जिनियर सागर पौडेल भन्छन्–तीन आनामा मापदण्ड नै पुग्दैन, कसरी पुनर्निर्माण गर्ने ? 
काठमाडौंमा एकदमै क्रिटिकल अवस्थामा विद्यालय सञ्चालन भएका छन् । रेड स्टिकर लगाएका भवनमा समेत विद्यार्थी पढाइरहेका छन् । तर, ती विद्यालय भत्काएर पुनर्निर्माण गर्न सक्ने अवस्था छैन । तीन आनामा कस्तो विद्यालय बन्ला ? काठमाडौंमा त्यस्ता १५ सामुदायिक विद्यालय पुनर्निर्माण गर्न सकिने अवस्था छैन । विद्यालय तहको अधिकार अहिले स्थानीय तहलाई भएकाले के गर्ने उसैले निर्णय लिनुपर्छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य भन्छन्–जोखिम विद्यालय आगामी शैक्षिक सत्रमा व्यवस्थापन गर्छौँ 
महानगरका भित्री सहरका विद्यालयमा समस्या छ । विद्यार्थी कम भएका र बनाउन पनि नसक्ने विद्यालयलाई अब मर्ज गरेर राम्रो पूर्वाधार बनाउँछौँ । भित्री सहरका विद्यालयका बालबालिका बाहिर निस्किनेबित्तिकै सडकमा आउने अवस्थासमेत छ । अब बालबालिका खेल्न मिल्ने गरी विद्यालय बनाउँछौँ । मर्ज गर्ने वा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा महानगरको शिक्षा शाखाले पनि अध्ययन गरिरहेको छ ।

एक उत्तर छोड्नुहोस्

Please enter your comment!
Please enter your name here